
२३ भदौ २०७५, इलाम
राज्य पुर्नसंरचना भएसँगै स्थानीय तहलाई शक्तिशाली बनाईएको छ । स्थानीय तहको केन्द्र सरकारले जति नै अधिकारको उपयोग गरी आफ्नो स्थानीय तहमा भएका प्राकृतिक साधन स्रोतको परिचालन र त्यसको आम्दानी समेत लिने अधिकार रहेको छ । त्यस्तै आफ्नो स्थानीय तहमा रहेका सामुदायिक विद्यालयको पाठ्यक्रम बिकास गर्ने सम्मको अधिकार स्थानीय तहले पाएको छ । प्रदेश १ का थोरै मात्र स्थानीय तहले यो अधिकारलाई उपयोग गरी आफ्ना स्थानीय तहका विद्यालयको पठ्यबस्तु परिमार्जन गरेका छन् ।
यसैबिच विश्वमै लोपोन्मुख मानिएको हाब्रे (रेडपाण्डा) जोगाउनका लागि इलामका विभिन्न विद्यालयले हाब्रे सम्बन्धी पढाइ शुरु गरेका छन् । पहाडी जिल्लामा पाईने हाबे्रको संरक्षण गर्न बिद्यार्थी जीवनबाटै सिकाउने उद्देश्यले हाब्रे पाईने स्थानका विद्यालयमा सो सम्बन्धी पढाई सुरु गरिएको हो ।
उच्च पहाडी संस्था र रेडपाण्डा नेटवर्क काठमाडौँको आर्थिक सहयोगमा जिल्लाका तीन विद्यालयमा हाब्रे सम्बन्धी पठाइ शुरु गएिको परियोजनाका संयोजक धनबहादुर खाम्दाकले बताए । खाम्दाकका अनुसार बिशेषत कक्षा ६ र ७ लाई यो बिषय पढाईने छ ।
खाम्दाकका अनुसार विद्यालयमा हाब्रे सम्बन्धी मात्र नभई पारिस्थितिक पद्धति, वन तथा वन्यजन्तु लगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गरिएको छ । जिल्लाका सन्दकपुर गाउँपालिकाको माइपोखरीमा रहेको चन्द्रोदय माध्यमिक विद्यालय, राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय, भानुद्वय माध्यमिक विद्यालयमा पढाइ शुरु गरिएको हो । रेडपाण्डा नेटवर्कका अनुसार जिल्लामा ३० देखि ३५ वटा हाब्रे रहेकोे तथ्याङ्क छ ।





