
२२ भदौ २०७५, कञ्चनपुर
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताउनुभएको छ । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका प्रहरी महानिरीक्षक खनालले रासससँगको कुराकानीमा अपराधीलाई कानूनी दायरामा ल्याएरै छाड्ने बताउए ।
महानिरीक्षक खनालले घटनाको सुक्ष्म रूपमा विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिए । “प्रहरीप्रति अविश्वास राख्नु हुँदैन ।” उनले भने, “चाँडो नतिजा ल्याउनेमा सक्रिय छौँ ।” अनुसन्धानमा समय लागे पनि दोषीलाई कारबाही हुनेमा ढुक्क हुन उनले आग्रह समेत गरे ।
सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगसित नेपाल प्रहरीले समन्वय गरेर आजबाट सुरुवात हुन गइरहेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियानले अपराध नियन्त्रणमा बल पुग्ने उनले धारणा राखे । “अभियानअन्र्तगत अधिकारकर्मी, नागरिक समाजलगायत सबै सामाजिक सङ्घसंस्थासित समन्वय गरेर अघि बढ्छौँ ।” प्रहरी महानिरीक्षक खनालले भने, “न्यायमा पहुँच बढाउन समेत अभियान लाभदायक हुनेछ ।”
महिलामाथि हुने हिंसालगायत कुनै पनि अपराधजन्य कार्यको नियन्त्रण एवं न्यूनीकरणमा प्रहरी सक्रियताका साथ लागेको उनको भनाइ थियो । बिहीबार साँझ भीमदत्तनगर आइपुग्नुभएका महानिरीक्षक खनालले राति नै निर्मला पन्तका परिवारसँग भेटघाट र घटनास्थलको समेत स्थलगत निरीक्षण गरेको थियो । प्रहरी महानिरीक्षक खनालसँगै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी पनि भीमदत्तनगर आएको छ ।





