विदेशीएका नेपालीलाई मुकुन्देको झटारो



२१ भदौ २०७५, काठमाडौं

केही वर्षअघिसम्म रत्नपार्कको रुखमाथि चढेर भाषण गर्ने ‘मुकुन्दे’ अर्थात् मुकुन्द घिमिरे अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा जोडिएका छन् । केही वर्षदेखि फेसबुक चलाउँदै आएका मुकुन्देले सक्रिय रुपमा ट्वीटर चलाउन थालेको केही महिना पनि भएको छैन । तर, यति छोटो अवधिमै उनी सेलिब्रेटि बनेका छन् । ट्वीटरमा उनलाई दैनिक ३/४ सयले फलो गर्ने गर्छन् । जुन चर्चित कलाकार वा राजनीतिज्ञको सरह हो ।

सामाजिक सञ्जालमा उनले आफूलाई भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । र, मुकुन्दल्याण्डका जनतालाई सुख र शान्तिले बस्न पाउने व्यवस्था आफूले मिलाउने समेत बताउँछन् ।

‘पहाडमा रेलैरेल, मधेसमा खेतैखेत, ट्याक्टरले खेत जोत्ने, हेलिकप्टरले बीउ छर्ने, १० करोडसम्म जनतालाई सुखले पाल्ने, ३६५ दिन नै दसैं घोषणा गर्ने उनका न्यूनतम कार्यक्रम रहेका छन् ।

०३५ सालमा भोजपुरमा जन्मिएका मुकु्न्दे ‘भोजपुरमा मोइ खाएर काठमाडौंमा पिसाब फेर्न आउने’ नेपाल देख्न चाहन्छन् ।

बुढेसकालसम्ममा कार्यकारी राष्ट्रपति बनेर मुलुकको अनुहार फेर्ने महत्वकांक्षा सुनाउने मुकुन्देलाई धेरैले पागल ठान्छन् । तर, उनी भने आाफूलाई राजनीतिक विश्लेषक भएको दाबी गर्छन् ।

भावी दिनमा रेडिकल डेमोक्र्याटीक राजनीतिक दल खोलेर निर्वाचनमा उम्मेदवारी दिने योजना उनको योजना रहेको सुनाए ।

पागलजस्तो एक्ल–एक्दै हिँडेर राजनीति हुन्छ त भन्ने प्रश्नमा उनी भन्छन्, ‘म स्याटालाइटबिनाको एक्लो बृहस्पति भइरहेको छु । अर्काको पाटीमा लागेर अर्काले भट्याएकोमा देउसिरे भनेर नेता हुन मेरो आत्माले दिँदैन ।’

०५८/०५९ सालतिर रत्नपाकस्थित शान्ति बाटिकामा पोते लगाएर बस्थे उनी । यसको कारण सोध्दा उनी भन्छन्, ‘नेताहरु सबै नपुंसकजस्तै भएकाले देशमा १५ हजार मान्छे मरेकाले १५ हजार दाना भएको पोते लगाएको हुँ ।

‘रत्नपार्कलाई असुरक्षित तर सामाजिक सञ्जाललाई सुरक्षित ठान्न मुकुन्दे भन्छन्, ‘उत्कृष्ट श्रेणीका विद्यार्थी, प्राविधिक, डाक्टर, इन्जिनियर विदेश जाने, बल्लतल्ल पास हुनेहरु कर्मचारीतन्त्रमा हालिमुहाली गर्ने र फेल हुनेहरु राजनीतिमा लागेकाले देश बिग्रिएको हो । देश बनाउन मास्टर माइन्डहरु राजनीतिमा लाग्नुपर्छ भनेर नै म राजनीतिमा लागेको हुँ ।

नेताहरुले आमसञ्चार माध्यम र दलका कार्यक्रममा आफ्ना कुरा जनतालाई सुनाउने गरेको तर आफ्ना कुरा सुनाउने फोरम नभएकाले रत्नपार्कमा भाषण सुरु गर्नु परेको उनले सुनाए ।

‘मेरा कुरा जनतालाई सुनाउने अन्य कुनै फोरम थिएन, त्यसैले मैले रत्नपार्कलाई फोरम बनाएको हुँ ।’ उनी भन्छन्, ‘रत्नपार्कले मलाई समाजमा स्थापित गराएको छ ।’

जनयुद्धका बेला माओवादीप्रति निकै आशाबादी थिए, मुकुन्दे । पढाई सकेर क्रान्तिमै होमिने सोच पनि थियो । तर, तीनै माओवादीका कार्यकर्ताबाट मरणाशन्न हुनेगरी कुटाई खानुर्पयो । बैदेशिक रोजगारमा गएका पिडीतलाई उद्धार गर्ने उद्देश्यले बैदेशिक रोजगार अध्ययन केन्द्र भन्ने संस्था चलाउँथे उनी ।

‘बैदेशिक रोजगार पीडितको उद्धार भयो भने अधिकांस युवा विदेशिन्छन् र हाम्रो आन्दोलनमा मान्छे लाग्दैनन् भन्ने तार्किन निहुँ पारेर घर गएको बेला (०५९) सालमा माओवादीले मरणाशन्न हुनेगरी पिटे ।’ स्मरण गर्दै मुकुन्दे भन्छन् ।

माओवादीले कुटे पनि उनीहरुको तर्क ठीकै लागेकाले संस्था छोडेर शान्तिका लागि प्रचण्डलाई राष्ट्रिय विभूतिकै सम्मान दिनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालमा ज्ञापन पत्र बुझाए । ‘माओवादी र सरकारको वार्ता भंग भएपछि तत्कालीन शाही नेपाली सेनाले समाते एक महिनासम्म बेपत्ता जस्तै बनाएर राख्यो ।’ उनी भन्छन् ९ दिन त पूरै बेहोस भएको थिएँ ।

जब मेलमिलापबाट शान्ति भयो तर माओवादीले एकलौटी जितेजस्तो गर्न थाल्यो तब माओवादीको आलोचना गर्न थाले उनको भनाई छ । एकपटक खुलामञ्जमा पैचण्डले भाषण गरिरहँदा उनले रत्नपार्ककको रुखमाथि चढेर माओवादीको बिरोध गर्दै भाषण गरे । त्यसबेला पनि माओवादी कार्यकर्ताले उनलाई मरणाशन्न हुने गरि पिटे ।

‘अब त माओवादी रााष्ट्रिय राजनीतिबाट ओझेल पर्न थाल्यो । कसको आलोचना गरेर आफू हिरो हुन मैले भिलेन पाएको छैन ।’ उनी भन्छन् । सँधैभरी अरुलाई गालीमात्रै गरेर नहुने भएकाले रेडिकल डेमोक्र्या्टिक संगठन बनाएर केजरीवाल शैलीको नयाँ शक्ति जन्माउन कोशिस गरिरहेको उनले सुनाए ।

दिनरात सामाजिक सञ्जालमा सक्रिय मुकुन्देको आम्दानीको स्रोत के हो ? ‘सामाजिक सञ्नालमा हारगुहार गरेर मितव्ययी हिसाबले जीउ पालेको छु । नयाँ फेर्न नसकेर थोत्रा लुगा लगाउँदै आएको छु ।’ उनले दुखेसो सुनाए ‘मागे राज्य पाइन्छ, लडे लौरो पाइन्छ भन्छन् मागेर खान के को लाज ?’

आफूलाई वौद्धिक मगन्ते ठान्ने उनी भन्छन् । भोजपुर षडानन्द नगरपालिका ९ खार्तम्छामा उनका नाममा १५ रोपनी जग्गा छ ।

‘एक जनाले पोहोरसाल अमेरिकाबाट १० हजार रुपैयाँ पठाइदिएकी थिइन । केही महिनाअघि साउदीमा रहेको भाइले १२ हजार रुपैयाँ पठाइदिएको थियो । दुवईमा रहेका राजनीतिक विश्लेषक दिल निसानी मगरले ४५ सय रुपैयाँ पठाइदिनुभएको थियो ।’ उनले भने ।

सिंहदरबारको नजिकै घट्टेकुलोमा ५ सयको कोठाभाडा लिएर बस्छन् उनी । स्टोभ बाल्न मट्टतिेलमा ५ सय, चामल र तरकारीमा १२/१५ सय र चियापसलमा गरी महिनामा ४ हजार देखि ४५ सय रुपैयाँसम्म खर्च हुने गरेको उनले बताए ।

भतिजले दुबईबाट आउँदा गिफ्टस्वरुप ल्याइदिएको प्रेष्टिज मोबाइलबाट फेसबूक र ट्वीटर चलाउँने उनी सामाजिक संजालले दिएका प्रशंसक र आलोचना नै आफूले कमाएको सम्पत्ति ठान्छन् ।

प्रतिक्रिया दिनुहोस्