प्रजिअले सिफारिस गरेको समितीले काम नगर्ने भएसँगै बिवाद मिल्यो



२१ भदौ २०७५, हलेसी

पुर्वको पबित्र धार्मीक स्थल हलेसी मन्दिर व्यवस्थापनमा देखिएको विवादले नयाँ मोड लिएको छ । हलेसी मन्दिर व्यवस्थापन समितीमा स्थानीय तहले सिफरिस गरेका व्यक्तीलाई हटाएर प्रमुख जिल्ला अधिकारीले सिफारिस गरेका पदाधिकारीले काम नगर्ने बताएसँगै यो प्रकरणले नयाँ मोड लिएको हो । हलेसी मन्दिर व्यवस्थापनको काम गर्ने गरी प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले गरेको निर्णय आफुहरुले नमान्ने भन्दै नियुक्त पदाधिकारीले बिज्ञप्ती जारी गरेका छन् ।

बिज्ञप्तीमा भनिएको छ, प्रजिअ पौडेलले हामीलाई थाहा नै नदिई जनभावना बिपरीत सिफारिस गरेकाले हामी काम गर्दैनौं । उनीहरुले स्थानीय सरकारका रुपमा रहेको हलेसी तुवाचुङ नगरपालिकाको बैठकबाट चयन भएको मन्दिर व्यवस्थापन समितिले नै काम गर्नु पर्ने बताएका छन् ।

प्रजिअ पौडेलले सिफारिस गरेकामध्ये अध्यक्ष पदमा सिफारिस भएका हर्कराज राई, कोषाध्यक्षमा सिफारिस भएका रमिला बस्नेत, सदस्यहरुमा सिफारिस भएका थामबहादुर राई, यज्ञराज राई र भूपेन्द्र राईले प्रजिअको सिफारिस मान्य नहुँने भन्दै विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । हलेसी मन्दिर व्यवस्थापन समितिका पदाधिकारी चयनमा प्रजिअ पौडेलले नगरपालिकाको सर्वसम्मत निर्णय माथी हस्तक्षेप गर्दै गत साउन १६ गते गुठी संस्थानमा अन्य ब्यक्तीको नाम पठाएपछि विवाद शुरु भएको थियो ।

गत जेठ २२ गते नगरपालिकाका सबै वडाध्यक्षसहित बसेको बैठकबाट अध्यक्षमा हर्कराज राईको अध्यक्षतामा व्यवस्थापन समिती र समितिको प्रमुख सल्लाहकारमा गजुरमान राई र सल्लाहकारमा लंकशेर राई, कुलदिप गुरुङ र रेवती केसीको नाम सिफरीस भएको थियो ।

नगरपालिकाले गरेको निर्णय जिल्ला प्रशासन कार्यालय र उक्त कार्यालय मार्फत जिल्ला मालपोत कार्यालय खोटाङ र गुठी संस्थान प्रधान कार्यालय काठमाडौंमा बोधार्थ पठाएको थियो । यद्यपी, प्रजिअ पौडेलले नगरपालिकाले पठाएको उक्त निर्णयको सट्टा अध्यक्ष हर्कराज राई बाहेक अन्य सबै पदाधिकारीको नामावली परिवर्तन गरेर गुठी संस्थान प्रधान कार्यालयमा छुट्टै सिफारिस पठाएका थिए ।

प्रजिअको सिफारिस अनुसार गुठी संस्थानबाट पत्र आएपछि नगर प्रमुख ईवन राईले प्रजिअले पौडेलले स्थानीय सरकारलाई कमजोर बनाउन उक्त कार्य गरेको आरोप लागएका थिए । प्रजिअ पौडेलले भने मन्दिर व्यवस्थापन समिति गठनमा गुठी संस्थानको रायअनुसार आफूले काम गरेकाले आफ्नो कुनै दोष नरहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्