
२१ भदौ २०७५, सुनसरी
भारतसँग सिमाना जोडिएका पुर्वी तराईका जिल्लामा तस्करीका घटना बढ्न थालेपछि नेपाल र भारत दुवै देशका अधिकारीले सुरक्षा सहकार्य गर्ने भएका छन् । पछिल्लो समय पुर्वी तराईका सिमावर्ती जिल्ला सुनसरी, मोरङ, झापा लगायतका जिल्लामा नक्कली नोट र अबैध सुन तथा चाँदी तस्करीका घटनामा बृद्धी भएको छ ।
चाडपर्वको सुरुवात सँगै सुरक्षामा चुनौती देखिएसँगै सुरक्षाकर्मीले संयुक्त सीमा गस्तीलाई तिव्रता दिएको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
पछिल्लो समयमा सीमावर्ती क्षेत्रमा देखा परेका सीमा अपराधलाई न्युनीकरण र रोकथाम गर्ने उद्देश्यले गस्तीलाई तिव्रता दिएको उनको भनाई छ । झापाको मेचीनगरदेखि भद्रपुर नगरपालिका, कचनकवल, झापा हुँदै गौरीगञ्ज गाउँपालिकासँग जोडिएको सीमावर्ती नाकामा दिनैपिच्छे सीमा गस्ती गरिदै छ भने सुनसरी र भारतको सपौलका सुरक्षा अधिकारीको संयुक्त बैठकले सुनसरीको सिमावर्ती क्षेत्र देवानगन्ज, भण्टाबारी लगायत स्थानमा संयुक्त रुपमा सुरक्षा गस्ती गर्ने सम्झौता भएको छ । सीमा क्षेत्रबाट मानव तस्करीका घट्नासमेत हुनसक्ने भन्दै यस्ता घटनालाई नियन्त्रण गरी दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन दुवै देशका सुरक्षा अधिकारी सहमत भएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताए । उनले पछिल्लो समयमा सुनसरी नाकाबाट हुने चोरी तस्करीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी १० करोड बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयलाई समेत बुझाएको बताएका छन् ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयका एसपी सुरेश कुमार श्रेष्ठले दश गजा क्षेत्रको सुरक्षा र सीमा क्षेत्रका अपराधिक घटना नियन्त्रण गर्न संयुक्त गस्ती गर्ने सहमति भएको बताएका छन् ।
झापामा थालिएको संयुक्त गस्तीमा वडा प्रहरी कार्यालयको नेतृत्वमा ९ जना, सशस्त्र प्रहरीका २३ र भारतीय एसएसबीका १५ जना गरी ४७ जनाको टोली रहेको छ ।
नक्कली नोट सहित युवक पक्राउ
झापाको काँकडभिट्टाबाट १२ लाख ८० हजार भारतीय रुपैयाँ सहित एक नेपाली युवा पक्राउ परेका छन् ।
पूर्वी नाका गेटमा झोलामा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा एक्सरे मेसिनबाट चेकको क्रममा ललितपुरका ३२ वर्षीय रविन्द्र बज्राचार्यको साथबाट त्यो रकम बरामद गरेको हो ।
शङ्का लागेर चेक गर्दा उनको साथबाट भारतीय नोट ५०, १००,२०० का नोट सहित ठूलो मात्रामा रकम बरामद गरिएको सशत्र प्रहरी बल गुल्म काँकडभिट्टाका डीएसपी राजेश घिमिरेले जानकारी दिए ।





