निर्मलाका सहपाठीको पत्र पढेपछि प्रधानमन्त्री ओलीले लिए कडा एक्सन



१८ भदौ २०७५, काठमाडौं

निर्मलाका सहपाठीले शुक्रबार ‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कारबाही हुन्छ ?’ भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीलाई लेखेको पत्र शनिबार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो । पत्र पढेपछि प्रधानमन्त्रीले तुरुन्तै गृहमन्त्रीलाई बोलाएर प्रहरी उच्च अधिकृत नेतृत्वको सीआईबी टोली अनुसन्धानमा पठाउन निर्देशन गरेको प्रधानमन्त्री निकट स्रोत जानकारी दिएको छ ।

बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली आइतबार महेन्द्रनगर पुगेको छ । प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले पठाएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोलीले महेन्द्रनगर पुगेर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले अनुसन्धानमा केन्द्र र अन्य क्षेत्रबाट विज्ञको सहयोग लिइरहेको बताए । ‘हामीले घटनालाई निकै गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं’ कडायतले भने, ‘प्राविधिक सहयोगका लागि केन्द्र र संघीय प्रहरी कार्यालयसँग समेत सहयोग लिइरहेका छौं।’ अनुसन्धानका क्रममा सीआईबीलगायत विज्ञको सहयोग लिने काम भइरहेको उनले स्वीकारे।

निर्मलाको बलात्कारपछि हत्या भएको ३९ औं दिन बितिसकेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते भीमदत्त–१८ निम्बुखेडा खोलास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्