शैक्षिक अभियन्ता उत्तम सञ्जेलको बिवाह खर्च जम्मा तीन सय



१८ भदौ २०७५, काठमाडौं

रु.१०० मा नर्सरीदेखि नर्ससम्म पढाउने समता शिक्षा अभियानका अभियन्ता तथा सञ्चालक उत्तम सञ्जेलले १० जना जन्ती सहित सोमबार गुहेश्वरी मन्दिर परिसरमा जम्मा तीन सय रुपैयामा विवाह सम्पन्न गरेका छन् । उनले रु.१०० मा नै विरामीको सेवा गरिने समता अस्पतालका हेल्थ असिस्टेन्ट कला अधिकारीसँग विवाह गरेका हुन् ।

चार महिनाअघि एक अर्कामा चिनजान भएका कला र सञ्जेल केही समययता प्रेम सम्बन्धमा थिए । सञ्जेलका अनुसार बिहेमा २५ रुपैयाँमा सिन्दुर, ७५ मा पोते, माला दुई सय खर्च भएको थियो । त्यसबाहेक बिहेमा एक किलो लड्डु महजोडीले किनिदिएका थिए ।

सञ्जेलको विवाहमा उपेन्द्र महतो हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, सीताराम कट्टेल, पत्रकारहरू गुणराज लुइँटेल, प्रतीक प्रधान, सुवास घिमिरे लगायत जम्मा १० जना जन्ती उपस्थित थिए ।

टि–सर्ट, पाइन्ट र चप्पलमा देखिएका दुलाहा र कला कुर्तासुरुवाल, चप्पल र घुम्टो ओढेकी दुलहीको बिवाह पाँच मिनेटमा सकिएको थियो ।

भारत, श्रीलंका र बंगलादेशमा समेत गरी करिब ६५ हजार विद्यार्थी अध्ययनरत समता शिक्षा नेपालको ७७ जिल्लामै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्