
१८ भदौ २०७५, बिराटनगर
हरेक बर्ष श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट बिराटनगरमा निकालिने रथ यात्राले बिराट नगरमा रौनक बढेको छ । रथयात्राको तयारी अगाडी देखी नै भएपनि रथ भने सोमबार अपरान्हबाट निकालिएको छ । यस बर्ष निकालिने रथ ५१ औं पटक निकाल्न लागिएको हो । रथयात्राको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेपछी साविकको मेनरोड हुँदै महेन्द्र चौक, धरानरोड, वरगाछी हुँदै सात किलो मिटिरको रुट यात्रा पूरा गरी पुनः मन्दिर परिसरमा आएर विसर्जन गर्ने रुट तय गरिएको राधाकृष्ण रथ यात्रा मुल आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले वताए ।
यता प्रदेश १ प्रशासनले रथयात्राका लागि आवश्यक सम्पूर्ण सुरक्षा ब्यवस्था मिलाएको बताएको छ । मोरङ प्रहरी प्रमुख एस्पी मनोजकुमार केसीका अनुसार रथयात्राको सुरक्षाका लागि सयौंको संख्यामा प्रहरी परिचलन गरिएको छ भने प्रदेश प्रहरीले ड्रोन मार्फत समेत रथयत्राको निगरानी गर्नेछ । रथयात्रामा हुने भिडभाडमा कुनै पनि अपराधिक गतिविधी हुन नदिन र त्यस्ता गतिविधी भएमा त्यसमा संलग्नलाई तत्काल नियन्त्रणम लिन सजिलो होस भनेर ड्रोन क्यामेराबाट सुरक्षा निगरानी गरिने केसीले बताए ।
सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाली सेना समेत खटाईएको छ । बिराटनगरमा पछिल्लो समयमा भईरहेका बम आक्रमणका घटनालाई समेत ख्याल राख्दै सादा पोसाकमा समेत प्रहरी परीचलन गरीएको छ । यता रथयात्राको निगरानीका लागि उडाईने ड्रोन सञ्चालनका लागि प्रहरी प्रधान कार्यालयबाट दक्ष प्राविधिक टोली बिराटनगर आईसकेको छ । उक्त टोलीले ड्रोनमार्फत रथयात्रा अवधिभर सबै ठाउँको वस्तुस्थितीका बारेमा जानकारी लिने काम गर्नेछ । सुरक्षालाई प्रतिकुलता हुने कुनै काम देखिए तत्काल सुरक्षाकर्मी उक्त स्थानमा पुग्ने केसीले बताए ।
विक्रम सम्बत १९८८ सालमा खट यात्राबाट प्रारम्भ भएको ऐतिहासिक जात्रा २०२५ साल देखि रथयात्राका रुपमा मनाउन थालिएको थियो । रथ यात्रामा नेपाल र भारतका करिब पाँच लाख भक्तजन सहभागी हुने आयोजक समितिको अनुमान रहेको छ ।
यसैबिच बिराटनगरमा हुने रथयात्रालाई मध्यनजर गरी प्रदेश १ सरकारले आज सुनसरी र मोरङमा सार्वजनिक बिदा दिएको छ ।





