
१३ भदौ २०७५, काठमाडौं
नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनको दोस्रो अर्थतन्त्र, केन्द्र प्रदेश र स्थानीय सरकारको समन्वय लगायतका विषयमा छलफल भएको छ ।

नेतृत्व छनोटमा केन्द्रीत अधिवेशनमा पार्टीहरुले प्राप्त गरेको मत र जननिर्वाचित प्रमुख उपप्रमुखको संख्याको आधारमा सवैभन्दा धेरै जित्ने तत्कालिन नेकपा एमालेले अध्यक्ष, उपाध्यक्ष दोस्रो काँग्रेसले महासचिव, तेस्रो माओवादी केन्द्रले कोषाध्यक्ष र अन्य दलहरुबाट सचिव हुने गरी ४९ सदस्य कमिटीको टुङ्गो लागेको भएपनि एकीकृत भएको नेकपाले जितेका प्रतिनिधिहरुसँग पार्टीले व्यवस्थित छलफल नगरेको भनी अधिकांश प्रतिनिधिहरुले असन्तोष जनाएका छन् ।

कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्ग खत्रीले अधिवेशन अपेक्षा गरेजस्तो नभएको बताए । उनका अनुसार समय तालिका अनुसार कार्यक्रम नभएको विचारको बहस नभएको र पण्डितले पण्डित्याई गरेजस्तो मात्रै भएको आरोप लगाए ।

पूर्चाैडी नगरपालिका उपप्रमुख जानकी ऐर (बम) ले पनि अधिवेशन सोचेभन्दा कम व्यवस्थित भएको बताईन् ।

नेपाली काँग्रेसबाट विजयी भएका सन्धीखर्क नगरपालिका कमलप्रसाद भुषाल भने अधिवेशन राम्रो भएको र आवश्यक विषयहरुमा छलफल भईरहेकोमा सन्तुष्ट देखिन्छन् ।

लहमी नगरपालिकाकी उपप्रमुख देवका बेलबासे पनि सहमतिको परम्पराले निरन्तरता पाएकोमा सन्तुष्ट देखिन्छिन् ।

दुधौली नगरपालिका सिन्धुलीका प्रमुख घनश्याम राउत पूर्व एमालेभित्र कुनै छलफल नगरी ह्वीप जारी गर्ने प्रयास भएको बताउँदै यदि त्यस्तो भए परिणाम नस्वीकार्ने बताउँछन् ।

काठमाडौंबाट नेपाल नगरपालिका संघमा उम्मेदवारी दावी गरिरहेका बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले विशेष गरी नेकपाबाट निर्वाचितहरुबिच समेत छलफल नगरी जननिर्वाचितहरुलाई अन्डरस्टीमेट गरेको बताए ।

रामेछाप नगरपालिका नरबहादुर थापा मगर आफू नउठने बताउँदै अधिवेशन चित्त बुझ्दो नै भएको बताउँछन् ।

रत्ननगरनगरपालिका उपप्रमुख विमला दवाडी अधिवेशन चित्त बुझ्दो नभएको बताउँछिन् । पार्टी केन्द्रले घोषणा गरे स्वीकार गर्ने तर पार्टीभित्र बोलाएर अपमान गरेको कारण चाहीँ उठाउने बताउँछिन् ।

राप्ती नगरपालिका चितवनकी प्रमुख प्रभा बराल अधिवेशन सोचेजस्तो व्यवस्थित नभएको बताउँछिन् । उनले अधिवेशन भन्दा पनि आफ्नो नगरपालिकाले गरेको र गर्ने कामहरुबारे बताएकी छिन् ।

६ वर्षे भूमिगत युद्धमा लडेका रास्कोट नगरपालिका कालिकोटका प्रमुख काशीचन्द्र बरालले अधिवेशन भन्दा आफ्नो नगरको बारेमा धारणा राखे ।


यसैगरी भेरी नगरपालिका जाजरकोटका प्रमुख चन्द्रप्रकाश घर्ती मगर र मादी नगरपालिका संखुवासभाका प्रमुख विदुर कुमार लिङ्थेपले समेत अधिवेशन भन्दा आफ्नो नगर विकासको विषयमा आफ्नो धारणा राखे ।

पूर्व नेकपा एमालेबाट निर्वाचितहरु अधिवेशन, व्यवस्थापन, संचालन र निर्णय प्रक्रियामा पारदर्शीता नभएको भन्दै पूर्ण अन्तुष्ट रहेको पाईयो । माओवादी केन्द्रबाट निर्वाचित भएकाहरुलाई अधिवेशनले खासै छोएको छैन । नेपाली काँग्रेसबाट निर्वाचितहरु भने पार्टीले नियमित छलफल र परामर्श गरेको कारण सवै भन्दा सन्तुष्ट भेटिए ।






