
१२ भदौ २०७५, बिराटनगर
संघीय लोकतान्त्रीक मञ्च र संघीय लिम्बुवान मञ्चले प्रदेश १ को प्रदेश सभा अगाडी दिने भनेको धर्ना प्रहरीले रोकेको छ । दुबै मञ्चले आज झापा, मोरङ र सुनसरी बाहेकका सबै जिल्ला प्रशासन कार्यालय र प्रदेश १ को अस्थाई मुकाम बिराटनगरमा रहेको प्रदेश सभा भवन अगाडी आज धर्नाको कार्यक्रम घोषणा गरेका थिए । पुर्ब घोषित कार्यक्रम भएकाले प्रशासनले सबै कार्यक्रम स्थलमा बाक्लो रुपमा प्रहरी परिचालन गरेको थियो ।
प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले प्रदेशसभा वरपरको स्थितीलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएर धर्ना दिन रोक लगाइएको बताए । उनले प्रदेशसभा भवनबाट पूर्वतर्फ देवकोटा चोक र पश्चिमतर्फ अस्पताल चोकसम्मको लगभग तीन सय मिटर क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको बताए । उनका अनुसार लिम्बूवानको पूर्वघोषित कार्यक्रम अनुसार सोमबार प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रमलाई लक्षित गरी सुरक्षा रणनिती बनाईएको हो ।
धर्ना दिनका लागि झापा, मोरङ र सुनसरीबाट विराटनगर पुगेका लिम्बूवान सम्वद्ध नेता कार्यकर्ताले प्रदर्शन समेत गरेका थिए । नारा जुलुस गर्दै प्रदेश सभातर्फ अघि बढेका लिम्बूवानका नेता कार्यकर्तालाई प्रहरीले विराटनगरको अस्पताल चोकमा नै रोकेको थियो । प्रहरीले अघि बढ्न नदिएपछि उनीहरुले प्रदेशसभाबाट लगभग दुई सय मिटर पश्चिममै रहेको अस्पताल चोकमै धर्ना दिएका थिए । धर्ना २ सय मिटर पर भएकाले प्रदेश सभा बैठक संचालन भएपनि सडक भने पुर्ण रुपमा अवरुद्ध भएको थियो ।
मञ्चले बिगत केही समययता प्रदेशको नामाकरणका बिषयमा आन्दोलन तथा धर्नाका कार्यक्रम गर्दै आएको छ । संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले जनजातिको भवना समेट्न किराँत वा लिम्बुवान प्रदेश नामाकरण हुनु पर्ने बताउँदै आएका छन् । केही समय अगाडी इटहरीमा भएको एक सभालाई सम्बोधन गर्दै लिङ्देनले प्रदेश १ मा चर्चामा रहेका नाम कोशी सगरमाथा वा अन्य कुनै राखिए बिद्रोह हुने र प्रदेशको नामाकरण प्रदेश २ को नामाकरण पश्चात गर्नुपर्ने बताएका थिए ।





