
११ भदौ २०७५,काठमाडौ
कथामा सुन्नु भएको छ होला, एक सोझा व्यक्तिले दशैंलाई भनेर ल्याएको खसीलार्इ बाटोमा भेटिएका ठगले कुकुर देखाएर खसी फुत्काएर लगेको हास्य प्रसङ्ग । यस्तै भएको छ भारतको कानपुर शहरमा । एक जना ठगले कुकूरलाई सिंगारेर खसीसँग साट्न सफल भए । खसी भनिएको जनावर दाम्लो समाएर तान्दा भुक्दै टाेक्न थालेपछि खसी मालिक असरफ जिल्लाराम परे ।
कानपुरमा एउटा उदेक लाग्दो घटना भएको छ । एक जना ठगले कुकुरलाई सिंगारेर खसी मालिकलाई झुक्याउन सफल भएका छन् । सुन्दा ठट्टा गरे जस्तौ लाग्ला तर घटना सत्य हो । कुकुरलाई खसी भनेर झुक्याउने ठगले नामुद ठग नटवरलाललाई पनि उछिनेका छन् । मुस्लिम धर्मावलम्वीहरुको बकर–ईद पर्वको बेला जाजमऊ बजारमा खसी खरिद गर्नेको भिड थियो । २० अगस्तको दिन स्थानीय असरफ मियाँले ३ वटा खसी बिक्री गर्न ल्याएका थिए । २ वटा खसी बिक्री भइसकेको थियो । एउटा कालो खसी किलामा बाँधेर असरफ ग्राहकको प्रतिक्षामा थिए ।
बजारमा घुमिरहेका एक पुरुषले असरफलाई भने तपाईको खसीको दाम्लो फुकेर उता गयो, हराउँला । असरफले आफूले खसी बाँधेको स्थानतिर नहेरी अपरिचितले जता देखायो उतै कुदे । नजिकै गर्धनमा फूलमाला लगाएको , दाम्लो पनि उस्तै भएको कालो जनावर फ्याकिएकाे व्रेड खाँदै थियो । असरफले आफ्नो खसी भनेर दाम्लो समाएर तानेका मात्रै के थिए , खसीले भुक्दै असरफलाई छोप्यो ।
खसी भनेर तानेको जनावर त कुकुर पो रहेछ । दुरुस्तै खसी जस्तो सिंगारेर ल्याएको । असरफ आफूले खसी बाँधेको ठाउँमा दौडिएर आउँदा त खसी छैन । ठगले कुकुरलाई देखाएर खसी उम्काएर लगेछ । असरफले बजार समितिमा उजुरी गरे । खसी र ठगको खोजतलास गरियो तर भेटिएन । हिस्स परेर असरफ घर फर्किए ।





