जिर्ण सडकले पछि पर्यो संखुवासभाको पर्यटन



१० भदौ २०७५, संखुवासभा

नेपाललाई विश्वमा हिमालको देश भन्ने गरिन्छ । नेपाललाई चिनाउने एउटा टाकुरोको रुपमा रहेको मकालु हिमालदेखि विश्वको सबै भन्दा होचो उपत्यका अरुण उपत्यका, पुर्वको फेवाताल गुफा पोखरी लगायत मनोरम दृश्य र भौगोलिक बिबिधताले भरिएको जिल्ला संखुवासभालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानको रुपमा लिने गरिन्छ । तर, भरपर्दो सडक सञ्जाल र भौतिक पूर्वाधारको बिकास हुन नसक्दा प्रशस्त सम्भावना रहेको पर्यटन ब्यबसाय फस्टाउन सकेको छैन, कुनै पर्व विशेषमा मानिसहरु दुखका साथ ति स्थानमा पुग्ने गरेपनि अरु बेला चाहेर पनि पर्यटकहरु पुग्न सकिरहेका छैनन् ।

संखुवासभालाई जोड्ने बसन्तपुर चैनपुर सडक र तुम्लीङटार हिले दुबै सडक हाल जिर्ण रहेका छन् । हवाई माध्यम तुम्लीङटार बिमानस्थलबाट संखुवसभा पुग्ने पर्यटक समेत मकालु, गुफा पोखरी लगायत स्थानमा पुग्न सकेका छैनन् । प्रचारको अभावमा धार्मिक महत्वको सभा पोखरीबाट समेत संखुवासभाले आम्दानी लिन सकेको छैन ।

चैत बैशाखमा पर्यटकको मुख्य आर्कषणमा पर्ने गरेको गुरासँको संरक्षीत क्षेत्र तिनजचुरे, मिल्के जलजले क्षेत्रको फाईदा समेत तेह्रथुमले मात्र लिन सकेको छ । तराईका पर्यटकको रोजाईको टिएम्जे क्षेत्र पुग्न संखुवासभाबाट सडक सुबिधा नहुँदा त्यस क्षेत्रका लाम पोखरी, गुफा पोखरी लगायत स्थान ओजेलमा रहेका छन् । साथै अरुण नदीको मनमोहक दृश्य, मौसम सफा हुँदा चैनपुर, वसन्तपुर, तुम्लिङटार र धरानसम्मको दृश्य हेर्न मिल्ने भाटभटेनी डाँडा भएता पनि त्यसलाई ध्यानमा राखेर काम गर्न नसक्दा राज्यले यहाँबाट लिन सक्ने आर्थिक फाईदा लिनबाट चुकेको छ ।

त्यस्तै देशभरिकै सबैभन्दा बढी जंगल, जलस्रोत, विभिन्न जनावर र थरिथरिका पुतलीहरु पाइने संखुवासभा जिल्लामा धेरै ताल र पोखरीहरु समेत रहेका छन् तिनीहरुको सदुपयोग गरि त्यहाँ सम्म सडक संजाल जोड्न सकियो र पर्यटकीय पार्क र रिसोर्ट बनाउन सकिएको खण्डमा संखुवासभाले अनुहार फेर्नेमा दुई मत छैन ।

आन्तरिक र बाह्य पर्यटकका लागि प्रशस्त घुम्ने ठाउँहरु रहेको संखुवासभामा सडकको दुरावस्था हुनु साथै होटल र लाजको पर्याप्त सुविधा नहुँदा प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलहरुबाट राज्यले फाइदा लिन सकेको छैन । प्राकृतिक, धार्मिक र सांस्कृतिक लगायतका विभिन्न सम्भावना हुँदाहुदै पनि राज्यको उपेक्षाका कारण संखुवासभालाई पर्यटकीय गन्तव्य बनाउन नसकेको संखुवासभाली पर्यटन व्यवसायीको भनाइ छ । पूर्वाधार व्यवस्थापनमा ध्यान दिन सके यहाँ पर्यटक आगमन बढेर राज्य र स्थानीयले राम्रो लाभ लिन सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्