
१० भदौ २०७५, काठमाडौं
अस्थायी ट्राफिक पोस्ट संखुवासभाले आर्थिक वर्ष २०७४÷७५ मा ३ हजार २ सय २ वटा सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले यसबाट १९ लाख ७७ हजार राजस्व संकलन गरेको छ ।
ट्राफिक प्रहरी पोस्टको तथ्यांकअनुसार सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । एक आर्थिक वर्षमा १ हजार ८ सय १६ वटा मोटरसाइकल कारबाहीबाट ११ लाख ५४ हजार राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा तीनवटा ट्रकबाट १ लाख ७२ हजार ५ सय, ५२ वटा बसबाट ३४ हजार, कार, जिप र भेन गरी ४ सय ४ बाट २ लाख ३५ हजार ५ सय र ट्याक्टर ५ सय ८२ वटाबाट ३ लाख ३४ हजार राजस्व संकलन भएको अस्थायी ट्राफिक प्रहरी पोस्ट संखुवासभाका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार जिल्लामा सबैभन्दा बढी पौषमा मात्रै २ लाख १ हजार राजस्व संकलन भएको छ । पौषमा ३ सय ३७ वटा सवारी साधन कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०७४÷७५ को साउनमा १ सय ८२, भदौमा २ सय ३४, असोजमा २ सय ९४, कार्तिकमा २ सय ६४, मंसिरमा १ सय ७४, पौषमा ३ सय ३७, माघमा ३ सय २ वटा सवारी कारबाहीमा परेका छन् । त्यस्तै, फागुनमा २ सय ९५, चैतमा ३ सय १०, वैशाखमा २ सय ९३, जेठमा २ सय ५५ र असारमा २ सय ६१ वटा सवारी कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेका अधिकांश सवारीचालकले मादकपदार्थ सेवन गरेको, ओभरलोड भएको, सिटबेल्ट र हेल्मेट नलगाएको र साथमा बिलबुक तथा सवारी चालक अनुमति पत्र नबोकी सवारी चलाउने रहेको पनि प्रमुख खत्रीले जानकारी दिए ।





