
०८ भदौ २०७५, संखुवासभा
संखुवासभालाई क्षेत्रीय सदरमुकाम धनकुटा र पुर्वी तराईका जिल्ला तथा प्रदेश १ को अस्थाई मुकाम बिराटनगरसँग जोड्ने मार्गको रुपमा रहेको तुम्लिङ्गटार–हिलेसडक खण्ड अब दैनिक ९ घण्टा बन्द हुने भएको छ । हिउँदमा घुलाम्मे र बर्षातमा हिलाम्मे बन्ने मार्गको स्तर उन्नती गरिने भएपछी उक्त मार्ग दैनिक ९ घण्टा अवरुद्ध हुने तुम्लिङ्गटार सडक डिभिजन कार्यालय संखुवासभाले जनाएको छ ।
संखुवासभाको तुम्लिङ्गटार हुदै धनकुटाको हिले निस्कने सडकखण्ड अन्तर्गत सभाखोलादेखि सातटारे सम्मको सडक तीन मिटरको मात्रै भएकाले बाटो साँघुरो हुँदा यातायात संचालनमा समस्या भईरहेको थियो । संखुवासभालाई बाहिरी जिल्लासँग जोड्ने बसन्तपुर चैनपुर सडक समेत जिर्ण रहेको र तुम्लिङ्गटार–हिलेसडक खण्ड समेत साघँुरो हुदा यात्रुलाई समस्या भएको खबर परिर्वतन खबरले प्रकाशित गरेको थियो । सडक स्तरोन्नतीको जिम्मा पाएको निर्माण कम्पनी रौताहा सन्तोषी जेभीलले सडक चौडा गर्नका लागि बुधबार देखि दैनिक ९ घण्टा यातायात बन्द गरेर काम सुचारु गरेको छ ।
स्तरोन्नतीको काम चलुन्जेल दैनिक बिहान ६ बजेदेखि ११ बजे सम्म र दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म सडक अवरुद्ध रहने तुम्लिङ्गटार सडक डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख त्रिलोकनाथ घिमिरेले जानकारी दिएका छन् ।
सडक स्तरोन्नतिको समयमा वैकल्पिक मार्ग सभाखोलादेखि खराङ्ग हुँदै पिलुवा निस्कने सडक प्रयोग गर्न जिल्ला प्रशासनसँग अनुमति मागेको समेत डिभिजन प्रमुखले जानकारी दिए ।





