
८ भदौ २०७५, काठमाडौं
नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्ने क्रममा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कांग्रेस निकटका नेता तथा कार्यकर्ताले कञ्चनपुरमा हिंसा भड्काएको आरोप लगाए ।
नेता रावलले भने, ‘निर्मला पन्त घटनामा कांग्रेसले कञ्चनपुरमा राजनीति गरेको छ । अनुसन्धानमा अबरोध गरेको छ’,‘छानविनमा सहयोग गर्नुभन्दा पनि कांग्रेसले निर्मला पन्त घटनामा राजनीतिक रंग दिएको छ ।’ नेता रावलले केही तत्वले गलत सूचनाहरू सम्प्रेषण गरेर आफू अनुकुलको काम गरिरहेको बताए ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको भन्दै नेकपाका नेता रावलले प्रदर्शन र हिंसा नभड्काउन आग्रह गरे । ‘कांग्रेसका केही नेताहरू अराजकतामा लागेका छन्’, उनले भने, ‘प्रहरी प्रशासनलाई सहयोग गर्नुपर्छ । प्रदर्शन गर्नु हुँदैन ।’
निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि एक महिना हुँदासम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा झडप भएको थियो ।
नेता रावलले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सहयोग नगरी राजनीतिक रंग दिएकोको दुःख व्यक्त गरे ।





