चिया घरको फरक पहिचान : १६ स्वादमा रमाउँदै पारखीहरु



०७ भदौ २०७५, काठमाडौँ

साथीभाइसँग दैनिक होस् या लामो समयपछि भेटघाट हुँदा गफगाफ गर्ने गन्तव्यस्थल बन्ने गर्दछ , ‘चिया पसल’ । झनै चियाका पारखीहरु त चिया पसल नजाने कुरै भएन् । साथै चियाको चुस्कीसँगै गफगाफ गर्ने स्थान पनि शान्त र सफा भए हुन्थ्यो भन्ने सोच त आउने नै भयो ।

सामान्यतयाः चिया पसलमा पुगेपछि कालो की सेतो चिया भन्ने प्रश्न आउने गर्दछ । तर पुरानो बानेश्वर नजिकै करिब ९ आना जग्गामा फैलिएको ‘चिया घरमा’ भने कुन स्वादको चिया भन्ने प्रश्न आउँछ । जहाँ १६ किसिमको मसलेदार चियाको स्वाद लिन सकिन्छ ।

विगत लामो समयदेखि बानेश्वर बस्दै आएका अर्घाखाचीका राजीव शाही ट्रेकिङ तथा होटलमा काम गर्थे । उनको पनि साथीभाइसँग भेट हुँदा चिया पिउने बानी थियो । त्यहि क्रममा उनले बुझे मानिसहरु चियाका लागि शान्त, सफा पसल खोज्ने गर्छन् । अब चिया पसल गर्ने तर नौलो तरिकाको, शाहीले सोच बनाए ।

‘त्यसपछि साथीहरु विष्णु घिमिरे र कृष्ण गिरीसँग कुराकानी  गरेँ  । अनि संयुक्त लगानीमा चिया घरको सुरुवात भएको हो, उनले सुनाए ।१२–१५ लाख लगानी गरी ५ वर्षका लागि ९ आना जग्गा भाडामा लिएर सुरुवात भएको चिया घरमा विशेषगरी सल्लाको काठ प्रयोग गरिएको छ । सल्लाको टेबल, कुसी अनि भित्ता र भुइँमा पनि सल्लाकै काठको प्रयोग गरिएको छ, चिया घरमा ।

‘हाम्रो नारा नै चिया, साथी र गफ हो । दैनिक भेट हुने वा लामो समयपछि भेट भएका साथीसंगीहरुले शान्त वातावरणमा कुराकानी गर्ने अवस्था हामीले बनाएका छौँ । त्यसैले हामीले wifi को  व्यवस्था पनि गरेका छैनौँ, शाहीले भने ।’

चियाका पारखीहरुले  चिया घरमा एक कप चियाको मूल्य ३० देखि ३०० रुपैयाँसम्म छ । जहाँ चियाका पारखीहरुले मसला ब्ल्याक, हनी जिन्जर, हनी गार्लीक, घिउ चिया, सिनामुन, मिन्ट, हिमालयन टी लगायतका १६ किसिमका चियाको स्वाद लिन सक्छन् ।

त्यसमध्ये चिया घरमा मसला र नरिवल मिश्रित मट्का चिया दिनमै १५० कप विक्री हुन्छ । केही मानिसहरुले त एकैपटक ५ कपसम्म मट्का चिया पिउने गरेको शाही बताउँछन् । विगत १५ महिनादेखि सञ्चालित चिया घरमा दैनिक दुई सय कप चिया विक्री हुने गरेको छ ।

दैनिक १०–१२ हजार आम्दानी गर्ने उक्त पसलमा ८ जनाले रोजगारी पाएका छन् । यहाँको चियामा विभिन्न किसिमका मसलाको प्रयोग गरिएको हुन्छ ।विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ने चिया घरमा बेलुकी समय घुँइचो लाग्ने गर्दछ । ‘ग्राहकहरुको स्वाद र स्वास्थ्यको ख्याल गर्दै ११ किसिमको चियामा नेपालमा बन्ने मसलाको प्रयोग गरेका छौँ ,शाहीले भने ।’

‘नेपालीपन झल्कने विभिन्न सामाग्रीले सजिएको चिया घरले माटोको कपमा चिया वितरण गर्ने गरेको छ । शाही भन्छन् , चिया घरको उद्देश्य पुरातात्विक कुरालाई अघि बढाउनु पनि हो । भक्तपुरमा बनाइने माटाका भाँडा नेपालीलाई भन्दा पनि विदेशी पर्यटकलाई बढी थाहा हुँदो रहेछ । त्यसैले हामीले विभिन्न पुरातात्विक सामाग्री तथा माटोको कपको प्रयोग गर्दै आएका छौँ ।’

चियाको प्रचार गर्ने, माटाको भाँडाको प्रवर्द्धन गर्ने र शाखा विस्तार गर्ने भावी योजना छन्, चिया घरको । ‘विदेश जाने युवालाई शाही भन्छन्, ‘नेपालमा नै केहि गर्न सकिन्छ । र समाजमा केहि दिन सक्छौँ । साथै नेपाली साम्रागीहरुको प्रवर्द्धन गर्न आवश्यक छ ।’

चिया भरको भित्तामा चिया पिउन आएका मानिसहरुलेआफ्नो नाम लेखेर राखेको कप सजाइएको छ । उनी भन्छन्, ‘यो उहाँहरुको माया हो, चिया पिएपछि कपमा हस्ताक्षर गर्नुभएको छ । हामीले त्यसलाई संकलन गर्दा यति धेरै भएको हो ।’

प्रतिक्रिया दिनुहोस्