

नयाँ दिल्ली: भारतको राजधानी नयाँ दिल्लीको जन्तर-मन्तरमा धर्नारत तमिलनाडुका किसानले शनिबार आफ्नै पिशाव पिएका छन् । जन्तर-मन्तरमा ३८ दिनदेखि धर्नारत उनीहरुले नरेन्द्र मोदीको सरकारले आफ्नो माग सुनुवाइ नगरेको भन्दै आफ्नै पिशाव पिएका हुन् ।
आइतवारसम्म पनि सुनुवाइ नभए किसानहरुले दिसा खाने चेतावनी दिइसकेका छन् । आफ्नो पीडाबारे भारतीय सरकारको ध्यान तान्नका लागि उनीहरुले पिशाव पिएका हुन् ।
आफ्नो आन्दोलनबारे मोदी सरकारले सुनुवाइ नगरेपछि उनीहरु पिशाव पिउनेसम्मको कदम चालेका हुन् । किसानहरुले चेतावनी दिँदै यदि आफ्नो माग सुनुवाइ नभएमा आइतबार मान्छेको दिसा खान बाध्य हुने जनाएका छन् ।
एक महिना भन्दा पनि धेरै समयदेखि आन्दोलनरत यी किसानले नग्न प्रदर्शनदेखि मुसा खाने तथा सर्पलाई मुखमा राख्नेसम्मका आन्दोलनका अनौठा तरिका गरिसकेका छन् ।
उनीहरुले आत्महत्या गरेका किसान साथीहरुको खोपडी पनि लिएर आएका छन् । उनीहरुको माग केबल आफूहरुको समस्या सरकारले सम्बोधन गरिदिओस भन्ने मात्रै छ । तर उनीहरुको कुरा सुन्नुको साटो सरकार कानमा तेल हालेजसरी बसेको छ ।
शनिवार उनीहरुले प्लास्टिकको बोत्तलमा मानव मूत्र लिएर बसेका थिए । उनीहरुले बोत्तलमा रहेको पिशाव आन्दोलनकै क्रममा पिएका हुन् । एक आन्दोलनकारी किसानले सञ्चारमाध्यमसँग भने, ‘हामीलाई तमिलनाडमा पिउने पानी पनि मिलेको छैन । प्रधानमन्त्री मोदी मोदी हाम्रो प्यासलाई नजरअन्दाज गरिरहेका छन् । यसैकारण हामीसँग आफ्नो पिशाव पिउने बाहेक अरु कुनै विकल्प छैन ।’
१३ अप्रिलमा भारतीय उच्च अदालतले तमिलनाडुमा किसानको आत्महत्यालाई लिएर राज्य सरकारमाथि कारबाही चलाएको थियो । अदालतले किसानको अवस्था धेरै चिन्ताजनक रहेको बताउँदै यस्तो स्थितिमा सरकराले नागरिकको ख्याल राख्ने जिम्मेवारीबाट चुक्न नहुने चेतावनी दिएको थियो ।
अदातलतले राज्य सरकारका नाममा आदेश जारी गर्दै दुई हप्ताभित्र उचित जबाफ दिन भनेको थियो । यसका साथै किसानहरुको यो मामिलामा गोपाल शंकरनारायणलाई समस्या समाधानका लागि पहल गर्ने जिम्मेवारीसहित नियुक्त गरेको थियो ।
अर्कातिर जन्तर-मन्तरमा किसानको समर्थनमा कयौँ नेता र दक्षिण भारतीय सिनेमाका कलाकार पुगिसकेका छन् । राहुल गान्धीका अलावा मणिशंकर अय्यर र डीएमके सांसद कनिमोझी किसानसँग मिलिसकेका छन् ।
भारतीय किसान यूनियनले पनि यस आन्दोलनको समर्थनको घोषणा गरिसकेको छ । तमिलनाडुका किसान केही समय यता चर्को खडेरीको सामना गरिरहेका छन् ।
दक्षिण-पश्चिमी मानसून र पूर्वोत्तर मानसून सामान्य भन्दा ६० प्रतिशत धेरै बर्सिएको छ । यस्तोमा ऋणको बोझले दक्षिण भारतका किसानको जीवन झनै कठिन बनाएको छ ।
आत्महत्याको बढ्दो मामिलाका बाबजुत सरकारले आफूहरुको मागको सुनुवाइमा सरकारले कुनै चासो नदिएको किसानहरुको आरोप छ । किसानहरुले ऋणको माफीसँगै राहत प्याकेजको पनि माग गरेका छन् । अर्कातिर मद्रास उच्च अदालतले तमिलनाडु सरकारलाई किसानको ऋण माफी गर्न आदेश दिएको छ ।





