
०६ भदौ २०७५, काठमाडौं
१) नेपालमा आधुनिक कर कानुनको विकास २००७ को राजनीतिक परिवर्तनपछि शुरु भएपनि प्रभावकारी कार्यान्वयको कारणले सरदर एक प्रतिशत नेपालीहरु तोकेको कर ईमान्दारीपूर्वक तिर्नेहरु विरलै भेटिएलान । पंचायती व्यवस्थाको अन्त्यसँगै प्रजातान्त्रिक सरकार र खुला अर्थतन्त्रको विकासले करका दायराहरु बढेपनि २०५४ को स्थानीय निर्वाचनपछि मुलुकमा बढ्दो राजनीतिक अस्थिरताले भएका कानुनको प्रयोग गरी कर प्रणालीलाई सुधार गर्न सरकार, राजनीतिक दल र नागरिकहरुले तत्परता देखाउन चाहेनन् ।
२) मुलुकको आन्तरिक द्वन्द, राजनीतिक अस्थिरता र वर्षेनी फेरिने सरकार प्रमुखहरुले आन्तरिक श्रोतको व्यवस्थापन भन्दा दातृ राष्ट्र वा निकायबाट लिईने वैदेशिक अनुदान एवं ऋण निरन्तर बढाईरहे । अपारदर्शी राज्य संचालनको फाईदा उठाउदै ऋणबाट संचालित परियोजनाहरुमा समेत व्यापक भ्रष्ट्राचार भएका समाचारहरुले पत्रिकाको हेडलाईनहरु भरिन थालेपछि जनतामा चरम वितृष्णा विकास भयो । यस्तो अवस्थामा नागरिकहरु आफूले तिरेको कर पूर्ण सदुपयोग हुनेमा ढुक्क हुन सकेनन् ।
३) २०४७ पछि नेपालमा संचार प्रविधिको विकासले निकै फड्को मार्यो । परिणाम स्वरुप पछिल्लो दशकहरुमा विकास भएका विधुतीय प्रविधि र सामाजिक संजालहरुले मिनेट वित्न नपाउँदै समाचारहरु लाखौं जनमानसमा पुग्न सहज भयो । अनलाईन पत्रिकाको अत्यधिक शुरुले करिव १ दशकमा १०० करोड भन्दा धेरै भ्रष्ट्राचार सम्बन्धि सत्य साथै कपोलकल्पित समाचारहरु समेत प्रकाशन गरे । जसले परिणाम स्वरुप भाषा बुझ्ने जति सबैले सरकारी परियोजनामा व्यापक भ्रष्ट्राचार हुन्छ भन्ने बुझे । अस्थिर शासन व्यवस्थाले समाचारको सत्यता छान्ने औकात नै राखेन ।
४) मागेर र ऋण लिएर चलेको देशले प्रत्येक वर्ष दाताहरुलाई बुझाउन प्रतिवेदन बनाउनु पर्ने भो । धेरै पैसा माग्ने उद्देश्यले नियतवश गरिब बढाएर प्रतिवेदन पठाउन थालियो । गरिवीको रेखामुनि रहेकाहरु धेरै देखिएपछि परियोजनाहरु संचालन गर्न थालियो । दिनभरी काम गर्नुभन्दा त्यस्ता कार्यक्रममा सहभागी हुँदा आम्दानी बढ्ने सामान्य नागरिकले बुझे । दिनरात काम गर्नेहरु श्रम छोडेर तालिम, सभा, समूहमा मिठो खान र भत्ता लिन केन्द्रित हुन थाले । परिणामस्वरुप परियोजनाहरु बढ्ने तर उत्पादकत्व घट्ने हुँदै गयो । धेरै परियोजनाहरु बढाउने उपायमा लाखौँ प्रतिवेदनहरु नेपाली यति गरिव उति गरिब भन्दा भन्दै आम नेपालीहरु गरिब हौँ भन्ने धारणाको विकास भयो । परिणाम स्वरुप विनोद चौधरीहरु समेत कर तिर्न भन्दा छल्न थाले । आम नागरिकहरुमा समेत आम्दानी भए पो कर तिर्ने भन्ने भावनाको विकास भयो । समयक्रम सँगै आम नेपालीको धारणा कर्तव्यबोध भन्दा अधिकारमुखी बन्न थाल्यो । विश्वभरबाट भित्रिएका अधिकारवादी संस्थाहरुले नेपाली कानुनका अधिकार सम्बन्धि धाराहरु पढाउँदै जे पनि सरकारले नै गर्नुपर्छ भन्ने धारणा विकास गराउन सफल भए । परिणाम स्वरुप सरकारले जसरी पनि जनताको आवश्यकता पूरा गर्नुपर्छ, जनताले त गरेकै छन् भन्ने आम चेतनाको विकास भयो ।
५) लामो समयपछिको स्थानीय सरकारले एक वर्ष वितिसक्दा समेत देखिने कार्यक्रमहरु ल्याउन सकेन तर जनताले प्रत्यक्षरुपमा देख्ने गरी जननिर्वाचित प्रतिनिधिका सेवा सुविधाहरु बढिरहे ।
६) राजनीतिक अस्थिरताको फाईदा उठाउँदै व्यक्तिगत पहुँच, प्रभाव र मिलेमतोमा टोलटोलमा सदावहार परियोजनाहरु संचालन गर्ने समूह–समूह नै हुन्थे । कर्मचारीसँग सेटिङ्ग मिलाएर आवश्यक पर्दा रातारात उपभोक्ता समिति, निर्माण समिति र स्थानीयवासीको हस्ताक्षर समेत गर्न सक्ने अनुभव र क्षमता भएका विकासे व्यापारीहरु जनतावीच निकै परिचित थिए । डकुमेन्ट बनाउने दशकौँ देखिको विज्ञता भएकाहरु अहिले बेरोजगार छन् । आम्दानीको श्रोत त रोकियो नै विकासे व्यापारीहरुलाई अहिले जनताले किन खोजी गर्थे । दाम र नाम गुमेपछि अहिले उनीहरु टोल टोलमा गएर स्थानीय सरकारको आलोचना गर्दै दिन विताईरहेका छन् ।
७) सदावहार सत्तामा रहेका बुढा कांग्रेस र युवा कांग्रेसहरु समेत अहिले मूल सत्ताबाट अलग भएका छन् । विकासे व्यापारमा ठूलो हिस्सा बोकेको त्यो समुदायको मूल धर्म नै सरकारको विरोध गर्नु हो । धेरै पीडाको परिणाम सरकारले कर उठाउनुलाई राज्य आतंकको रुपमा व्याख्या गर्न थालिएको छ । ८० प्रतिशत राजधानीवासी अहिले सरकारले तोकेको करमा १ प्रतिशत समेत तिर्दैनन र चिया गफदेखि कार्यालयको फुर्सदमा समेत कर तिर्नु राज्य आतंक हो भन्दै हिडिरहेका भेटिन्छन ।
समाधान : स्थानीय सरकारलाई पूर्ण परिचालित गरी तोकिएको कर सबै नागरिकबाट उठाउने, उठाएको कर पारदर्शी ढंगले स्थानीय आवश्यकता बमोजिम खर्च गर्ने ।





