गरे के हुन्न : रुद्राक्षबाट मनग्य आम्दानी



०६ भदौ २०७५, संखुवासभा

नेपाल र बेरोजगारी यि दुई शब्द सुन्दा एक अर्काका परीपुरक लाग्छन् । सरकारी अधिकारी नै बताउँछन् आजभोली दैनिक १५ सयसम्म युवा रोजगारीका लागि खाडीका देश पलायन हुने गरेका छन् ।

कोरिया तथा जापान जान लाग्ने युवाको लाईन पनि लामै छ । तर थोरै मेहनत र लगनशिलता देखाउनेले नेपालमा आफुमात्र रोजगार भएका छैनन् अरुलाई समेत आम्दानीको बाटो देखाई रहेका छन् । प्रदेश १ सरकारले मुख्य नगदेवालिको रुपमा राखेको रुद्राक्षको खेतीबाट संखुवासभाको चिचिला गाउँपालिका २ दिदिङ खेवाटारका गजबहादुर राईले राम्रो आम्दानी गरिरहेका छन् ।

धेरै पहिलेदेखि रुद्राक्ष उत्पादन नगरे पनि उनी दिदिङमा पहिलो रुद्राक्ष कृषकको रुपमा चिनिन्छन् । उनको रुद्राक्षको ठूलो बगान त छैन तर १७ ओटा रुखबाट पनि निकै राम्रो आम्दानी भईरहेको छ । यसमा पनि ४ ओटा रुखमा गुणस्तरीय रुद्राक्ष उत्पादन हुने गरेको राईले बताए ।

रुद्राक्ष उत्पादन सुरु भएको विगत ४ वर्षदेखि उनले वार्षिक २५ देखि २ लाख ५० हजारसम्म आम्दानी गर्ने गरेका छन् । सुरुका वर्ष रुद्राक्षको कम मूल्य भएकै कारण २५ हजारमा व्यापारीलाई ठेक्का दिएको राईले सुनाए । यो वर्ष भर्खरै २ लाख ५० हजारमा ठेक्का लगाइएको राई बताउँछन् । अरु खेती जस्तो झन्झटिलो नहुँने र आम्दानी राम्रै हुने गरेकाले रुद्राक्ष खेतीतर्फ हाल किसानको अर्कषण बढ्दै गएको छ ।

राईको छिमेकी जेम्स राईले पनि कोदो खेती विस्थापित गरेर रुद्राक्षको बिरुवा लगाएका छन् । उनले विगत ३ वर्षदेखि कोदो रोप्ने जग्गामा रुद्राक्षको बिरुवा लगाएका छन् । उनले हाल सम्म ८० बिरुवा लगाएका छन् । आगामी वर्षदेखि केही बोटले उत्पादन सुरु गर्ने राईले बताए । रुद्राक्षबाट छिमेकीको राम्रो आम्दानी देखेपछि कोदो विस्थापित गराएर रुद्राक्ष लगाएको उनी बताउँछन् । १० वर्ष विदेश बस्दा आम्दानी भएन, यतिका वर्ष रुद्राक्षको बिरुवा लगाएको भए अहिले मालामाल हुने थिएँ, उनले भने । विदेशको दुख सम्झिएर रुद्राक्षमा पसिना बगाएको उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्