राजनीतिमा विश्राम लिइएला, सामाजिक काममा विश्राम लिइन्न : सोम प्रधान



०६ भदौ २०७५, काठमाडौं

विद्यालय जान भन्दा साथीभाइसँग गुच्चा खेल्न, चङ्गा उढाउन र माछा मार्न पो मज्जा लाग्थ्यो उनलाई । राजनीतिक पारिवारिक पृष्ठभूमिमा भक्तपुरको दुवाकोटमा जन्मिएका सोम प्रधान हजुरबुवा र बुवाले गरेको सामाजिक कामबाट प्रेरित भए ।

गाउँघरमा जाँदा हजुरबुवा न्यायको पक्षमा उभिएको र गरिबलाई साथ दिएको भन्दै प्रशंसा हुने गग्थ्र्यो । उनका बुवाले पनि राजनीतिज्ञ तथा शिक्षक भएर समाजमा राम्रै स्थान बनाएका थिए । सोम प्रधानले पनि हजुरबुवा मेखबहादुर र बुवा केदारप्रसाद प्रधानले समाजमा छाडेको सकारात्मक छापलाई निरन्तरता दिने विचार गरे । २०४८ बाट राजनीति मार्फत सामाजिक काम गर्ने अठोटका साथ अघि बढे ।

आइए पढ्दापढ्दै भक्तपुर क्याम्पसबाट राजनीति गर्न थालेका प्रधान हाल चागुँनारायण नगरपालिका वडा नम्बर २ का वडा सदस्य हुन् । गत स्थानीय तहको निर्वाचनमा उनले चागुँनारायण नगरपालिकामा सर्वाधिक मत पाएका थिए । रक्त सञ्चार सेवा भक्तपुरका सहसंयोजक रहेका प्रधान नेपाल रेडक्रस सोसाइटी दुवाकोटका सभापति पनि हुन् । ब्लो दानका सदस्य रहेका प्रधान भक्तपुर निर्माण व्यवसायी संघका सदस्य पनि हुन् ।

२०४८ सालमा नेपाल विद्यार्थी संघको जिल्ला कोषध्यक्ष बनेका प्रधान २०५२–०५३ मा काग्रेस प्रवेश गरेका थिए भने २०५६ मा गाउँ एकाई सभापति भएका थिए । ‘त्यसबेला सामाजिक काम गर्ने उद्देश्यका साथ हामीले स्वास्थ्य जनचेतना समाजको स्थापना गर्यौँ । उक्त समाजमा मैले महासचिवको हैसियतले काम गरेको थिएँ ।

नामबाट स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था जस्तो देखिए पनि हामीले त्यसबाट धेरै काम गर्यौँ । त्यतिखेर भक्तपुरका महिलाहरु समाजमा बोल्न हिचकिचाउँथे । समाजमा महिलाहरु पनि अघि बढ्नुपर्छ भन्दै हामीले महिला जागरण अभियान नै चलायौँ । त्यसपछि महिलाहरु समाजमा केहि बोल्न र गर्न थाले । त्यसैको प्रभाव स्वरुप अहिले यहाँका महिलाहरु हक अधिकारका कुरा गर्न सक्षम भएका छन ।’

२०६५ सालमा नेपाल रेडक्रस सोसाइटीको उपशाखा गठन भयो । जसमा प्रधानले महासचिवको पदमा रहेर मानव सेवाका कार्य गर्ने अवसर पाए ।‘रेडक्रस मार्फत हामीले आयआर्जनदेखि रेस्क्यूटोली उत्पादन गर्नुका साथै विपतपूर्वको तयारी समेत गर्यौँ , उनले भने ।’

त्यस्तै महिलाहरुको पाठेघरको क्यान्सर परिक्षण र आँखा परिक्षणका लागि विभिन्न समयमा शिविर सञ्चालन गरेको थियो उक्त रेडक्रस उपशाखाले । एक घटना स्मरण गर्दै उनले भने,‘ आँखा शिविर सञ्चालन गर्दा दुवै आँखा नदेख्ने एक जना पुरुष र महिला आउनुभएको थियो । हामीले उहाँहरुको अप्रेशन गर्यौँ । उहाँहरु ५–७ वर्ष बाँच्नु पनि भयो । त्यो एकदमै खुसीको कुरा हो । यस्ता कतिपय उचार गरियो , उपचार नपाएको भए सायद मृत्यु भइसक्ने कतिपय मानिसहरु अहिले बाँचिरहेका छन् ।’

नेपाल रेडक्रस सोसाइटीको उपशाखा उत्कृष्ट उपशाखाको रुपमा भक्तपुरमा परिचित छ । रगत अभाव भएको बेला आफ्नो उपशाखा मार्फत धेरै रगत संकलन गर्न सक्ने व्यक्तिका रुपमा समेत परिचित छन् प्रधान । विकास निर्माण कार्यमा सक्रिय भूमिका निर्वाहा गरिरहेका गरेका प्रधान फैढोका खानेपानी तथा सरसफाईका सचिव पनि हुन् । भन्छन्, ‘यसलाई केन्द्रिय योजनामा पार्न सफल भयौँ । हाल वडाका २५ प्रतिशत मानिस यस खानेपानीमा निर्भर छन् ।’

भक्तपूरमा सानादेखि ठूला समस्या पर्दा सोम प्रधानलाई सम्झने जमात ठूलो छ । विभिन्न कार्य मार्फत भक्तपुरमा परिचित छन् प्रधान । भन्छन्,‘समाजका मानिसहरुले सेवा गर्ने मौका दिनुभएको छ , त्यसलाई सौभाग्यको रुपमा आत्मसाथ गरेको छु ।’प्रधानले आफ्नै पहलमा हजुरबुवाको नाममा अनाथालय पनि खोलेका छन । जडिबुटीमा सञ्चालन भइरहेको टुहुरा बालबालिका उद्दार केन्दलाई उनले घरपरिवारसँग सल्लाह गरेर २०६३ सालमा हजुरबुवाको नाममा एक रोपनी जग्गा पास गरिदिएका हुन् ।

टुहुरा बालबालिका उद्धार केन्दमा हाल २३ जना बालबालिका बस्ने गर्छन । उनी भन्छन्, ‘त्यहाँ बसेका एक जना डाक्टर पढ्नका लागि बङ्गलादेश गएका छन् भने एकजना भिडियोग्राफीका लागि मुम्बइ गएका छन् ।’

रेडक्रस उपशाखाले मानव सेवाका निमित्त विगत ३ वर्षदेखि मुठी दान कार्यक्रम गर्दै आएको छ ।
‘मुठि दान कार्यक्रम अन्तर्गत प्रत्येक घरमा एउटा बट्टा दिन्छौ । उहाँहरुलाई खाना पकाउने भाँडोबाट गरिब र अनाथका लागि एक मुठी छुट्याउन अनुरोध गर्छौँ । त्यसबाट एक महिनामा संकलित सामाग्री टुहुरा बालबालिका उद्दार केन्दमा पठाउने गरेका छौँ, उनले भने ।

सामाजिक कार्यमा अहोरात्र खट्ने प्रधान घर परिवारमा समय दिन नसेको बताउँछन् । कहिलेकाहि घरका सदस्यहरुबाट समय नपाएको गुनासो पनि आउँछ उनी समक्ष । भन्छन्,‘राजनीतिमा विश्राम, लिइएला सामाजिक काममा विश्राम लिइन्न ।

लामो समयदेखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सामाजिक कार्यमा क्रियाशील प्रधान आफूलाई समाजसेवी भन्न खासै रुचाउँदैनन् । भन्छन् , ‘समाजसेवी बन्न निकै काम गर्नुपर्छ । म त हजुरबुवा र बुवाले गर्नुभएको काममा निरन्तरता दिँदै एउटा इट्टा थप्ने कार्यमा लागेको छु ।’

साथै उनले बिरामी भएर उपचार गराउन नसक्ने मानिसहरुलाई परिवर्तन खबर मार्फत एक आग्रह समेत गरेका छन् । भन्छन्,‘काठमाण्डौ मेडिकल कलेजमा व्यक्तिगत नाताले उपचार गराउन नसेका कतिपय बिरामीलाई निशुल्क उपचार गराइरहेको छु । उपचार नै गराउन नसक्ने स्थितीमा भएकालाई सम्पर्क गर्न समेत अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्