
०४ भदौ २०७५, काठमाडौँ
नायक प्रदिप खड्का स्टारर चलचित्र ‘रोज’ को प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र टिमले प्रचार प्रसारको लागि नेपालका केही शहरहरुमा कन्सर्ट गर्ने भएको छ । पोखरा, काठमाडौँ, चितवन, इटहरी, बिर्तामोड, धरान, दमक र बुटवल गरी नेपालका आठ ठूला शहरहरुमा कन्सर्ट गरिने चलचित्र निर्माण टिमले जानकारी दिएको छ ।
विभिन्न स्थानहरुमा गरिने कन्सर्ट मा नायक प्रदिप खड्का, चर्चित गायक प्रताप दास लगायत चलचित्र निर्माण टिम सहभागी हुनेछन् । भदौ १४ देखि पोखराबाट सुरु हुने टुर भदौ १५ मा बुटवल, भदौ १६ चितवन (नारायणगढ), भदौ १७ इटहरी र धरान, भदौ १८ दमक र बिर्तामोड हुदैँ भदौ २० मा काठमाडौँमा आएर समाप्त हुनेछ ।
गोपी कृष्ण मुभिजको ब्यानरमा निर्मित चलचित्र रोजलाई निरक पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिपका साथमा परमिता राणा र नव नायिका मिरुना मगरको पनि मुख्य भूमिका देख्न सकिन्छ । चलचित्र रोज आउँदो भदौ २२ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।





