
०४ भदौ २०७५, काठमाडौं
फेसबुक तथा ट्वीटरलगाएतका सामाजिक सञ्जाल मार्फत आर्थिक कारोबार हुने भन्दै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिईएको छ ।
संघीय संसदको तल्लो प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल सरकारलाई सो निर्देशन दिएको हो । आज बसेको समितिको बैठकले फेसबुक तथा ट्वीटरलगाएतको सामाजिक सञ्जालको माध्यमबाट करोडौं रुपैंया बाहिर गईरहेको भन्दै नेपाल सरकारलाई उक्त निर्देशन दिएको हो । आजको बैठकमा सञ्चारमन्त्री गोकुलप्रसाद बासकोटाले मन्त्रालयको योजना र विवरणहरु प्रस्तुत गरेका थिए । उक्त विवरणमा नेपाल टेलिकममा नयाँ साझेदार ल्याउन लागिएको जनाइएको छ ।
बैठकमा सांसदको प्रश्नको जवाफ दिदै मन्त्री बास्कोटाले सञ्चार क्षेत्रलाई नियमन गर्न साइबर कानून बनी रहेको जानकारी दिएका छन् । नेपाल टेलिभिजनलाई सातवटै प्रदेशमा विस्तारको कार्य भइरहेको, ६ महिनाभित्र देशभरी ७६८ वटा नेपाल टेलिकमको टावर लाग्ने र क्लिन फिडका विषयमा कानुन बनिरहेको जानकारी दिए ।





