क्याम्पसद्वारा बेवास्ता गरिएको छात्रावास भवनको सरसफाई गर्दै अनेरास्ववियू ( भिडियो सहित)



०३ भदौ २०७५, काठमाडौँ

पशुपति क्याम्पसका दुई विद्यार्थी संगठन अनेरास्वावियु र अनेरास्ववियू (क्रान्तिकारी) ले पशुपति क्याम्पसको जिर्ण अवस्थामा रहेको छात्रावास भवनको सरसफाई गरेको छ। आज बिहान विद्यार्थीहरु सहित आएको अनेरास्ववियूको टोलीले उक्त भवनको सरसफाई गरेको हो।

अनेरास्ववियुले निरन्तर आन्दोलन गरेर महिला छात्रावासको कुरा उठाएपछी पशुपति क्याम्पस संचालक समिति पुर्व अध्यक्ष तथा समाजसेवी भद्र कुमारी घलेले करिव १० वर्ष अघि महाङ्काल स्थित २२ कोठे भवन उपलब्ध गराएकी थिईन। घलेले भवन उपलब्ध गराए पनि क्याम्पस प्रशासनले उक्त भवनप्रति कुनै चासो नदेखाएसँगै भवन पूर्णरुपले जिर्ण भएको थियो भने फोहोरहरुले भरिएको थियो।

उक्त छात्रावास भवनको क्याम्पस प्रशासनले ब्यवस्थापन गर्न हेलचेक्राई गरेको हुनाले अनेरास्ववियु पशुपति क्याम्पस कमिटीले यथाशीघ्र छात्रावासको ब्यवस्थापनको माग गर्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउनको निम्ति सरसफाई कार्यक्रम गरेको थियो । प्रति आना करिव ५० लाखको हाराहारीमा पर्ने ११ आना जग्गामा बनेको उक्त ३ तले भवनको अवस्था देख्दा जो कोही पनि क्याम्पस प्रशासनप्रति आक्रोशित बन्छन। जसले पनि क्याम्पस प्रशासनको नियत माथि प्रश्न तेर्साउछ्न।

हाल उक्त घर सार्वजनिक फोहोर डम्पिङ साईड वा शौचालयको रुपमा परिणत भईरहेको थियो । केही समय भने उक्त घर क्याम्पसका केही व्यक्तिहरुले व्यक्तिगत रुपमा प्रयोग गरेका थिए । त्यसकारण यतिखेर पशुपति क्याम्पसका अनेरास्ववियुले भद्रकुमारीले दिएको उक्त घरलाई नयाँ जीवन दिएको हो ।

सरसफाई गरेको भिडियो :

https://www.youtube.com/watch?v=NUU4Q3TZwcU&feature=youtu.be

भवनको २२ कोठा मध्ये ३ कोठा मासिक ३ हजारको दरले भाडामा लगाएको क्याम्पसले उक्त भवनको कुनै संरक्षण गरेको छैन। भवनका सबै झ्याल ढोकाका काठहरु मक्किसकेका छन् भने झ्यालका सिसाहरु फुटेर लथालिङ्ग छन्। भवन भित्र छिर्दा कुनै नर्कमा छिरे जस्तो भान हुन्छ। २२ मध्ये १९ कोठामा फोहोरका डंगुरहरु थुप्रिएका थिए भने ट्वाईलेट र वाथरुम गदगदी हिलो भएको कुनै सिम खेत झैँ थियो।

सरसफाइको क्रममा करिव ३ गाडी फोहोर निकालेको अनेरास्ववियूले सुरक्षित स्थानमा व्यवस्थापन समेत गरेको छ। अनेरास्ववियूले सरसफाई गर्न थाले पछि क्याम्पस प्रमुख प्रयागराज भट्टराई र सहायक क्याम्पस प्रमुख कल्याण दाहाल पनि आएर फोहोर व्यवस्थापनमा सघाएका थिए।

देशका दुरदराजबाट उच्च शिक्षा लिन आउने छात्राहरुको निम्ति दाताले दिएको उक्त भवनलाई क्याम्पसले बुझ्न नसकेको र दाताको अपहेलना गरेको कारण आफैं अग्रसर भएर सरसफाई गर्न आएको अनेरास्ववियू क्रान्तिकारी पशुपति क्याम्पस इकाईका अध्यक्ष सरोज मोक्तानले बताए।

क्याम्पस प्रशासन र संचालक समितिको लापरबाही र बेवास्ताको कारण दिनानुदिन भवन जिर्ण बन्दै गएको र डम्पिङ साईडको रुपमा परिणत भएको हुँदा त्यो दृश्य टुलुटुलु हेर्न नसकेर आफैं अग्रसर भएर सरसफाई गर्न आएको सरसफाई अभियानको नेतृत्व गरेका अनेरास्ववियु पशुपति क्याम्पसका अध्यक्ष उत्तर खड्काले परिवर्तन खबरलाई बताए।

विगतमा पशुपति क्याम्पस कमिटी र अनेरास्ववियु क्रान्तिकारी कमिटीसँग उक्त भवन गरिव तथा विपन्न वर्गका छात्राहरुलाई छात्रावास बनाउन पटक-पटक सहमती गरिएको कुरा तत्कानीन संघर्ष समितीका संयोजक यशु कुमारी लामाले बताईन ।

पशुपति क्याम्पसको शैक्षिक गुणस्तरीयता बृद्धी गर्नका निमित्त अब यस्ता सकारात्मक गतिविधी मार्फत निर्णायक आन्दोलन गर्ने अनेरास्ववियु पशुपती क्याम्पस कमिटीका नेताहरुले उद्घोष गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस्