अरुकै सुन्दरतामा रमाउने रेखा



०३ भदौ २०७५, काठमाडौं

गायनमा रुची राख्ने डा. रेखा थापा सानोमा लुकीलुकी गीत गाउने गर्थिन् । अरुले गाएको गीतबाट प्रभावित भई आफैँ गाउने रेखा बुवा इन्डियन आर्मी भएकाले अलिक डर मान्थिन् ।

कलेज पढ्दासम्म साथीहरुले पनि उनको स्वरको प्रशंसा गर्थे । उनी भन्छिन्, ‘गीत गाउन त्यतिबेला खासै राम्रो मानिदैनथ्यो, परिवारबाट पनि  सहयोग भएन् ।’

समयक्रमसँगै गायनभन्दा अर्काको सौन्दर्यमा पो रमाउन थालेकी रेखाले वोद्ध टुसालमा ‘कोजी व्युटी सालोन एण्ड एकेडेमी’ संञ्चालन गरेकी छिन् । इलाममा जन्मिएकी थापा विगत १२ वर्षदेखि सौन्दर्य क्षेत्रमा सेवारत छिन् ।

श्री सरस्वती माद्यामिक विद्यालयबाट २०५८ मा एसएलसी उत्तीर्ण गरेकी रेखा विद्यालय स्तरमा हुने हाजिरी जवाफ प्रतियोगिता जस्ता विभिन्न कार्यक्रममा सहभागी हुने गर्थिन् । २०६० सालमा महेन्द्र रत्न कलेजबाट प्लस टु उत्तीर्ण गरेपछि उनले ३ महिना ब्यूटीशियनको तालिम लिइन् ।

‘पहिले ब्युटीपार्लरमा जाने महिलालाई त राम्रो मानिदैनथ्यो भने त्यहाँ काम गर्नेलाई राम्रो मान्ने कुरै भएन् । तर अहिले गर्वका साथ ब्युटीपार्लरमा काम गर्छु भन्न सक्ने स्थिती बनेको छ । ब्युटी पार्लरप्रति नकारात्मक धारणा राख्ने समाज छिट्टै परिवर्तन भएको छ । यो राम्रो पक्ष हो, रेखाले भनिन् । त्यसपछि अध्ययनका लागि काठमाण्डौ झरेकी रेखा पद्यमकन्या क्याम्पसमा स्नातक अध्ययन गर्दै घरमा साथीहरुलाई सुन्दर बनाउन व्यस्त हुन्थिन् ।

स्नातक सकेपछि कुलेश्वरको कोलोनी होम एण्ड ट्रेनिङ सेन्टरमा ६ महिने डिप्लोमा कोर्ष गरिन भने एक वर्ष त्यहि सेन्टरमा काम गरिन् । उनले ट्रेनिङ लिएर काम गरेको सेन्टरका म्याडम तथा घरपरिवारका सदस्यहरुबाट सहयोग पाइन् । त्यसपछि उनले एक लाख लागतमा कुलेश्वरमा ‘कोजी व्युटि पार्लर’को स्थापना गरिन् । साथै स्नातक तहको अध्ययनलाई पनि निरन्तरता दिइन् ।

उनले भनिन्, ‘धेरै जनाले मेरो सेवा दिने तरिका, कामप्रतिको लगाव र सेवाग्राहीहरुलाई गर्ने व्यवहारको प्रसंशा गर्दै तिमीले राम्रो गर्न सक्छौ भन्ने प्रेरणा दिनुहुन्थ्यो । कामको नतिजा राम्रो हुँदै गएपछि यहि क्षेत्रलाई निरन्तरता दिएँ ।’अध्ययन र पार्लरसँगै अघि बढाईरहेकी रेखाले २०६७ सालमा अंग्रजी बिषयमा स्नातकोत्तर उत्तीर्ण गरिन् । त्यसपछि उनको विवाहको कुरा चल्यो ।

तीन वर्ष ब्युटीपार्लर सञ्चालन गरिरहेकी रेखाले विवाह हुने निश्चत भएपछि पार्लर विक्री गरिन् । २०६८ मा उनको मागी विवाह भयो । ‘मागी विवाह भएपनि मेरो व्यवसायप्रति उहाँ जानकार हुनुहुथ्यो । समझदार मेरा श्रिमानले निकै सहयोग गर्नुभयो ।’

त्यसपछि केहि समय उनी भारतमा मेहन्दी, नेल, हेयर, स्किनको विशेष तालिम लिनमा व्यस्त भइन् । २०७० बाट वौद्घ टुसालमा कोजी व्युटि सलोन एण्ड एकेडेमी सञ्चालन गरेकी रेखाले आफैँ ट्रेनिङ दिन थालिन् । अंग्रेजीमा डिग्री गरेर पनि किन अर्काको कपाल काट्छौ भन्ने प्रश्न नआएका होइनन् तर उनी त्यसलाई वेवास्था गर्दै अघि बढिन् ।

अहिले उनको व्युटि सलोनमा ४ जना सहयोगी छन् । उनले सन् २०१६ मा भारतको राजस्थानबाट स्वास्थ्य र थेरापीसँग सम्बन्धित २ वर्षे बिएटिएस (BATS ) कोर्ष गरेकी छिन् ।

उनी भन्छिन्, ‘मैले अध्ययन गरेको सो कोर्ष स्वास्थ्यको क्षेत्रमा प्रयोग नगरेपनि व्युटिको क्षेत्रमा भने प्रयोग गरेको छु । बिएटिएस अध्ययन गरेपछि धेरै समस्याहरुको समाधान गर्न सकिन्छ ।’ बिएटिएसको अध्ययनले नै उनलाई नामको अघि डा. राख्ने अनुमति दिएको हो ।
कोजी एकेडेमीमा ४०–४५ जना व्युटिसम्बन्धि विभिन्न कोर्ष अध्ययनका लागि आउने गरेका छन् ।

थुप्रै किसिमका सेवा उपलव्ध हुने कोजी व्युटि सलोन एण्ड एकेडेमीबाट मासिक ५–६ लाख बराबरको आम्दानी गर्छिन् रेखाले । साथै उनले दिदीसँग मिलेर चाबहिलमा बुटिकको पनि सुरुवात गरेकी छिन् । उनको कोजी सलोनको शाखा कोजी सलोनको शाखा चाबहिलमा बुटिकसँगै छ ।

उनकी एक छोरी पनि छन् । ‘उनी भन्छिन्, छोरी हेर्दै, घरपरिवारलाई समय दिदै कामलाई प्राथामिकतामा राखेर निरन्तर अघि बढेँ । सबै चिजको व्यवस्थापन गर्न गाह्रै हुँदो रहेछ ।’ ‘मसँगै अध्ययन गरेका कतिपय साथीहरु शिक्षक बन्नुभएको छ । म पनि त व्युटि सम्बन्धि अध्यापन गराउँछु । लाग्छ म पनि अहिले सम्मानजनक स्थानमा छु । आफूले अध्यापन गराएका विद्यार्थीहरु आफ्नै खुट्टामा उभिने भइसके । त्यो नै मेरो उपलब्धि हो र खुसी पनि , रेखाले भनिन् । ‘

रेखा व्युटी एकेडेमीका शाखा खोलेर शिक्षा दिने सोचमा छिन् । काठमाण्डौ बाहिर पनि एकेडेमी खोल्ने सोच बनाएकी रेखा बुटिकलाई पनि निरन्तरता दिने पक्षमा छिन् ।

 

प्रतिक्रिया दिनुहोस्