
०१ भदौ २०७५, ताप्लेजुङ
राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘पापिनी आमा’ खण्डकाव्यमा समेटिएको ‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको मुठ्ठीले !’ भन्ने उक्ति फरक नपर्ला ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की निर्दयी आमा कमला बिकलाई ।

सुन्दा पनि मुटु नै सिरिङ्ग हुने गरी उनले जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी छिन् । कमलाले कच्ची शौचालयभित्र दिशामा डुबाएर जुम्ल्याह छोरीको हत्या गरेकी छिन् । उनको एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ ।
छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् । कमलाकी आमा संजमायाका अनुसार २६ गते छोरी र नातिनीलाई घरमा छाडेर उनी तलको घरमा झरेकी थिइन् ।
बुधबार माथिको घरमा जाँदा कोही पनि भेटिनन् । बस्तुभाउलाई घाँस काट्ने क्रममा सेफ्टीट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरे ।

त्यहाँ खाल्डे चर्पी थियो । स्थानीयले त्यही चर्पीबाट जमुनालाई जीवितै उद्धार गरे । मलमूत्रले लत्पतिएको अवस्थामा उद्धार गरिएकी जमुनालाई स्थानीयले अस्पतालमा लगे । त्यहाँ उपचार सम्भव नभएसम्म एम्बुलेन्समा हालेर बिर्तामोड र्पुयाए । तर, बुधबार साँझ उनको पनि मृत्यु भयो । जंगाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो ।
प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाका अनुसार दुबैलाई कुटपिट गरेर हत्या गरेको फालेको आशंका गरेका छन् ।
कमलाकी आमा संजमायासँग आफ्नी नातिनीको उपचार गर्न अस्पताल लैजाने पैसासमेत थिएन । स्थानीयले केही रकम संकलन गरेर एम्बुलेन्सको खर्च जुटाएका थिए ।
कमला कता गइन् भन्ने खुलेको छैन । घटनाबारे जानकारी दिँदै वडा नम्बर २ का वडाध्यक्ष ज्ञानप्रसाद दाहालले भने, ‘उनको मति बिग्रिएर यस्तो कुकर्म गरेकी होलिन् ।’
उदपयुरका गाडीका सहचालकसँग भागी बिवाह गरेकी कमला भर्खरै २० वर्षकी भएकी छिन् । जुम्ल्याह छोरीलाई शेफ्टी ट्यांकीमा हालेर हिँडेकी कमलाको घरायसी सम्बन्ध लामो समय रहेन । गर्भवती भएपछि माइती आउने क्रममा गाडीमा इलाम आइपुग्दा उनले दुई छोरीलाई जन्म दिइकी थिइन् ।
उनीहरु भदौ ५ गते एक वर्ष पुग्थे तर त्यसअघि नै आफ्नै आमाले उनीहरुको ज्यान लिएका छन् । प्रहरी निरीक्षक थापाका अनुसार संजमायाले प्रहरीमा जाहेरी दिएकी छिन् । अहिले कमलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





