
३१ साउन २०७५, काठमाडौं
आज नागपंचमीको दिन काठमाडौंको नक्साल स्थित नागपोखरीमा श्रदालु भक्तजनहरुको घुइचो लागेको छ। नाग पोखरीमा रहेको नागको पुजा गर्न उक्त स्थानमा बिहानै देखि श्रदालु भक्तजनहरु लाईनबद्ध हुँदै पुजाआजा गरिरहेका छन्।

नाग पोखरीको बीचमा रहेको नागको मुर्तिमा पुजा गर्न जानको निम्ति भक्तजनहरुलाई बोड अर्थात डुङ्गाको व्यावस्था गरिएको छ। भक्तजनहरुको उपस्थिति बाक्लो रहेको हुदा तीनवटा डुङ्गाबाट ल्याउने र लाने व्यवस्था गरिएको छ। पुजा गर्न आउनेहरुमा अधिकांश महिलाहरु रहेका छन् भने पुरुषहरुको पनि उपस्थिति राम्रै रहेको छ।

आजको दिन देशैभरका नाग मन्दिरहरुमा नाग देवताको पुजा गर्न भक्तजनहरुको घुइचो लाग्ने गर्दछ। नाग देवतालाई खुशी पारे सबैखाले अनिष्टहरु भाग्ने धार्मिक विश्वास अनुरुप पनि आज नागको पुजा गर्न भक्तजनहरु नाग मन्दिरमा जाने गर्दछन।

भक्तजनहरुलाई न्युनतम शुल्कमा डुङ्गाबाट जाने आउने व्यवस्था गरिएको नागपोखरी मन्दिर समितिले जनाएको छ। भक्तजनहरुले पोखरीको बीचमा रहेको नागको प्रतिममै पुगेर पुजा गर्न सकुन भन्ने चाहाना अनुरुप उक्त व्यवस्था गरिएको पनि समितिले जनाएको छ।

पोखरी परिसरमा पुजाआजा गर्ने , टिका र हातमा डोहोरो बाध्नेहरुको पनि भिड उत्तिकै रहेको छ। भक्तजनहरु घाममा छाता ओडेर लाइनमा बसेर नागको दर्शन र पुजा गरिरहेका छन्।

बिहानै देखि श्रदालु भक्तजनहरुको उपस्थिति बाक्लो रहेको हुदा फूलपाती ब्यापार पनि राम्रोसँग भईरहेको व्यापारीहरु बताउछन। प्रया जसो भक्तजनहरुले नागको पुजा गर्न आवश्यक सामाग्रीहरु यहिँ आएर किन्ने गरेको पनि एक व्यापारीले बताए।






