युनाइटेड वर्ल्ड स्कुलमा गुणस्तरीय शिक्षाका कुरा



२९ साउन २०७५, काठमाडौं

नेपालमा गुणस्तरीय शिक्षाका बिषयमा विभिन्न समयमा बहस, छलफल, गोष्ठी हुँदै आएका छन् । अझै सम्म पनि कस्तो शिक्षालाई गुणस्तरीय शिक्षा भन्ने तथा यसका लागि कुन पक्षबाट के गर्ने भन्ने कुरामा अन्यौलता कायमै छ ।

ठूला भवन, आरामदायी कक्षाकोठा, आधुनिक प्रविधिको प्रयोगबाट गुणस्तरीय शिक्षा पाउन सकिन्छ भन्ने एकथरीको धारणा छ भने व्यवहारोपयोगी शिक्षा नै गुणस्तरीय शिक्षा हो भन्ने अर्कोथरीको विचार छ । गुणस्तरीय शिक्षाका विषयमा सोमबार मात्रै राजधानीमा दुरदराजका बस्तीहरुमा विद्यालय निर्माण गर्दै आएको युनाइटेड वर्ल्ड स्कुलसले एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो ।

नेपालको शिक्षालाई कसरी समावेशी ,समान र गुणस्तरीय बनाउन कसरी बनाउन सकिन्छ भन्ने बिषयमा आयोजित उक्त कार्यक्रमका अतिथि तथा किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले शिक्षा सबैको अधिकार भएकाले यसको गुणस्तरमा ध्यान पुर्याउनुपर्ने बताए ।

उनले आफूले लिएको शिक्षाबाट मानिसले गरेर खान पाउनुपर्छ धारणा राख्दै ग्रामिण र शहरी परिवेशको शिक्षाको स्तरमा समानता भेट्न गाह्रो हुने संकेत गरे ।साथै कक्षा १ मा भर्ना भएको विद्यार्थीले स्कुल छोड्दै जाने गरेको यथार्थताले समस्या उत्पन्न हुने उनको तर्क थियो ।

कार्यक्रमका अर्का अतिथि तथा कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतमले शिक्षाको आधारभूत लक्ष्य पहिचान गर्न आवश्यक भएको बताए । उनले भने,‘विद्यालयमा भित्र लिइएको शिक्षालाइ प्रयोग गर्न आवश्यक छ । त्यसलाई प्रयोग गर्न जानिएन भने त्यो सुचना हो । ‘

सुचनालाई ज्ञानमा कसरी बदल्ने भन्ने कुरा आफूले पढाउँदै आएको उनको भनाई थियो । उनले नेपालको शिक्षा प्रणालीमा परिवर्तन जरुरी रहेको र त्यो सम्भव रहेको बताए । गुणस्तरीय शिक्षाका लागि नयाँ मानक तयार पार्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रमका अतिथि तथा बुल्म नेपालका संस्थापक राम के रिजालले विद्यालयमा लैङ्गिक समानता कायम भएपनि आर्थिक स्थिती भने समान हुन नसकेको बताए । विद्यार्थीले ३० मिनेट भन्दा बढी हिड्नुपरेमा शिक्षाको पहुँच  को समानतामा कमी आउने  उनको भनाई थियो ।

नेपालको शिक्षालाई दुरदराजका बस्ती तथा शहरहरुका विद्यालयमा शिक्षा कसरी समान बनाउन सकिन्छ तथा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने कुरा कार्यक्रमको मुख्य बिषय रहेको थियो ।

अतिथिहरुले कार्यक्रममा युनाइटेड वर्ल्ड स्कुल्सबाट २ वर्षका लागि दुरदराजका विद्यालयमा सहजता पुर्याउनका लागि गएका तथा जाने तयारीमा रहेका तालिम प्राप्त शिक्षक (फेलो) हरुलाई समाजमा भिज्नका लागि केही सल्लाह समेत दिएका थिए ।कार्यक्रममा युनाइटेड वर्ल्ड स्कुलका २०१७ का फेलोहरुले आफ्नो अनुभव प्रस्तुत गरेका थिए भने २०१८ का फेलोहरुले आफ्नो परिचय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्