
२८ साउन २०७५, संखुवासभा
संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. २ का सचिव रामप्रसाद रेग्मीलाई नरपालिकाले तोकेभन्दा बढी भत्ता लिएको आरोप लागेको छ । २ नम्वर वडाको जिम्मेवारी पाएका रेग्मीले एक वडाबाट अर्को वडा जाँदा, मिटिङमा जाँदा र व्यक्तिगत काममा सदरमुकाम जाँदाको समेत बैठक भत्ता भनी कागज पत्र मिलाई मासिक ६० हजार बढी रकम लिएको खुलेको छ । कानुन बिपरीत भत्ता लिएका सचिव रेग्मीलाई अख्तियारले सरकारी सम्पती दुरुपयोग गरेको भन्दै आवश्यक अनुसन्धान गरी कारवाही गर्न पत्र पठाएको छ ।
वडा सचिवलाई एउटा वडा कार्यालय हेरे बापत नगरपालिकाले २ हजारका दरले भत्ता दिने भनी निर्णय गरेको थियो । तर रेग्मीलाई नगरले नै कर्मचारी अभावका कारण १ र ३ नं. वडा समेत हेर्न निर्णय गरेको थियो । रेग्मीले नगरको निर्णयलाई बेवास्ता गर्दै आफुखुसी ५ हजारका दरले तीन वटा वडाबाट अतिरिक्त रकम लिएको प्रमाण फेला परेको छ ।
झुटो आरोप लगाईयो : सचिव रेग्मी
यता अख्तीयारी दुरुपयोगको आरोप लागेका सचिव रेग्मीले आफु माथि लागेको आरोप झुटो भएको बताएका छन् । आरोपको खण्डन गर्दै उनले भने आफुलाई फसाउन कार्यालय भित्रैका कर्मचारी लागि परेको प्रतिक्रिया दिए । उनले भने आफ्नो चरित्र हत्या गर्न खोज्ने केही व्यक्तिले सामाजिक सञ्जालमा नामै किटान गरेर पोष्ट गरेकोे भेटेपछि झुटो आरोप माथि छानविन गर्न २५ गते नै नगरपालिका कार्यालयमा निवेदन बुझाएको बताए । सोही दिन यस विषयप्रति गम्भीर हुन मेयर र उप–मेयरलाई आग्रह गरेको रेग्मीले बताए ।





