डा. विदुर चालिसेको स्मृतिका पहाड कविता संग्रह बजारमा



२८ साउन २०७५, काठमाडौं

नेपाली साहित्यमा लामाे समयदेखि कलम चलाउँदै अाएका डा. विदुर चालिसे वि.स. २०३५ देखि २०६० को दशकसम्म प्रगतिशील साहित्यमा बढी केन्द्रित थिए । बढ्दो उमेर, ज्ञान र अनुभवले पछिल्लो समयमा प्रकृति, प्रेम र मानवीय जीवनको अस्तित्वलाई प्रगतिशील विचारधाराबाट हेर्न थाले। त्यसपछि उनको लेखन प्रगतिशीलताको घेराकाे चमकमा सप्तरङ्गी भएर कविताहरू बाहिर निस्कियो।

काठमाडाैंको पूर्वी भागमा पर्ने हाल  गोकर्णेश्वर नगरपालिका -९ आरुवारीमा २०१६ कार्तिक १५ मा जन्मिएका चालिसे त्रिभुवन विश्वविद्यालयमा सह-प्राध्यापकको रुपमा कार्यरत रहँदा नै  “ऐतिहासिक नेपाली भाषामा प्रयोग भएको व्याकरण तत्वको क्रमिकविकास” विषयमा विधावारिधि समेत पुरा गरे।

विधावारिधिको शिलशिलामा गरिएका खोजहरुले नेपाली भाषा साहित्यको अनुसन्धानमा समेत ४ अनुसन्धानात्मक कृतिहरु प्रकाशन गर्न सफल भए। विभिन्न साहित्यिक समालोचनात्मक लेख, कविता, कथा लेखन तथा थुप्रै पत्रिकामा सम्पादन गरिसकेका चालिसेको पहिलो कृति भने युगबोल्छ (कवितासंग्रह) -२०४७ हो। विगत २ वर्षदेखि प्रत्येक दिनजसाे कविता लेखिरहेका उनका धेरै कृतिहरु प्रकाशोन्मुख अवस्थामा रहेका छन्।

कवितामा भूपी शेरचन, गोपालप्रसाद रिमालका भावधारा र व्यङ्ग्यबाट प्रभावित भई गद्यकविता लेख्न थालेका चालिसेलाई लक्ष्मीप्रसाद देवकोटाको स्वछ्न्दतावादी कविता शैलीले समेत प्रभावित बनाएको देखिन्छ । जीवनको युवावस्थामा कविता लेखनलाई व्यवस्थित गर्न नभ्याएका चालिसे भविष्यमा भने तुफान झैँ साहित्य सिर्जनामा लागेकाे देखिन्छ ।

९६ कविताहरुको संग्रह रहेको कृतिमा चालिसेले समाजका विविध पक्षहरुका बिम्ब, व्यङ्ग्य, संवेदना र प्रकृति सहितको साझा पुञ्जको रुपमा “स्मृतिका पहाड” कविता संग्रहलाई पाठकमाझ ल्याएका छन् ।

उनको सङ्ग्रहबाट लिइएका  केही हरफ कविता :

जलिरहेको फोटो हेरिरहेथें,
त्यहाँ बा हुनुहुन्थेन, म पनि थिइन,
फरक थियौँ, जीवित र मृत मुर्दामा
तैपनि बाबु, छोरा थियौँ नातामा,

एकलास एकलासका लाश !
खाल्डो अरुका लागि खन्थ्यो
ऊ आफैँ पुरिन्थ्यो, पुरिइरहन्थ्यो
चलिरहन्थ्यो जीवन उसका श्रम

स्मृतिका पहाड कविता सङ्ग्रह समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशन गरेको पुस्तक हो।  पुस्तक विक्रीबाट आएको रकम डायस्फाेरा साहित्य मै योगदान दिने साेंच रहेकाे कवि चालिसेले एकप्रश्नकाे उत्तरमा परिवर्तन खवरलाई बताए  ।

प्रतिक्रिया दिनुहोस्