
२७ साउन २०७५, बिराटनगर
नेपाल संघीयतामा गएसँगै प्रदेशको नामाकरण र प्रादेशिक राजधानीका बारेमा बहस, चर्चा बिवाद आन्दोलन हुनु स्वभाबिक नै हो । नेपाल संघियतामा गएर ३ तहको निर्वाचन भएको १ बर्ष लगभग पुगिसकेको छ । तिनै तहको निर्वाचनमा आफु उठेको नगर जिल्लालाई राजधानी बनाउँछु भन्नेहरु यति बेला तै चुप मै चुपको अवस्थामा रहेका छन् । हालसम्म नेपालका ७ प्रदेश मध्ये २ वटा प्रदेशले मात्र नामाकरण गरेका छन् । नेपाल सरकारले १ देखी ७ सम्म नम्वरलाई आधार मानेर बनाएको प्रादेशिक संरचनामा प्रदेश नं. ४ ले गण्डकी प्रदेश र प्रदेश ६ ले कर्णाली प्रदेश नामाकरण गरेपनि अन्य ५ प्रदेशमा भने नाममा चर्चा र बिवाद देखिदै आएको छ ।
अस्थाई राजधानी बिराटनगरबाट आफ्नो काम गरिरहेको प्रदेश १ मा पनि प्रदेशका नाममा बिभिन्न चर्चा हँुदै आएका छन् । प्रदेश १ मा खासगरी सगरमामथा प्रदेश, कोशी प्रदेश र किराँत प्रदेश नाम अगाडी आउने गरेका छन । बिश्वमा नेपाललाई चिनाउने सर्वोच्च शिखर सगरमाथा भएकाले यसैको नामबाट प्रदेशको नामाकरण गरिनुपर्ने कतिपयको माग छ भने कोशी नेपालकै ठुलो नदी भएको र कर्णाली र गण्डकी समेत नदीका नामबाट नामाकरण भएकाले प्रदेश १ को नाम कोशी हुनुपर्छ भन्ने तर्क समेत धेरै आउने गरेको छ ।
यता सभ्यता र पहिचानका आधारमा प्रदेश १ को नामाकरण गर्नुपर्ने धेरै जातिय संघसंस्थाले माग राख्दै आएका छन् । किराँत भूमी प्रदेश १ भएकाले यसको नाम किराँत हुनुपर्छ भन्ने मागले यतिबेला भने केही ठुलो रुप लिएको छ ।
बिषेशगरी प्रदेश १ का मुख्यमन्त्री, मन्त्री र प्रदेश १ को सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले समेत सामान्य समर्थन किराँत प्रदेशमा जनाउँदा प्रदेशको नामाकरण किराँत हुने सम्भावना बढेको हो ।
किराँत नाममा नेता देखी मन्त्रीको समर्थन
प्रदेश १ को नाम किराँत हुनसक्ने भन्दै मन्त्री र नेताले खुल्ला रुपमा नै भाषण गर्न थालेका छन् । केही समय अगाडी प्रदेश १ मा आएका नेपाल कमियुनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश १ को भौगोलिक र सभ्यताका आधारमा नामाकरण गर्दा किराँत गर्न सकिने बताए । किराँत राई यायोक्खाको ३१औं स्थापना दिवसको उद्घाटन गर्दै मंगलबार उक्त विचार व्यक्त गरेका हुन् ।
‘नेपालको इतिहास किरातबिना सम्भव छैन,’ मुलुकको इतिहास र सभ्यतामा यलम्बरसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘किरात शब्द इतिहास, सभ्यता, संस्कृति र जीवन प्रणालीसँग जोडिन्छ । त्यसैले एक नम्बर प्रदेशको नामाकरण किराँत नै हुनुपर्छ भन्नेबारे पार्टी र सरकारमा गम्भीर रुपमा छलफलमा छौं । प्रधानमन्त्रीसँग सोच मिलेको महशुस गरेको छु ।’
यस्तै प्रदेश १ का मुख्यमन्त्री देखी मन्त्री सम्मले किराँत नामको सर्मथन गर्दै आएका छन् । केही समय अगाडी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले किराँत प्रदेश नामाकरण गर्दा कसैले चित्त दुखाउन नहुने बताएका थिए । यता अर्थमन्त्री इन्द्र बहादुर आङ्बोले समेत प्रदेशको नाम किराँत राख्नुपर्ने बताउँदै आएका छन् । शनिवार मोरङको बेलबारीमा २४ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री आङ्वोले सो बताएका हुन् । १ नम्बर प्रदेशका आदिवासी जनजाति लगायत यहाँका बासिन्दाहरुका भावनालाई समेट्न प्रदेशको नाम किराँत हुनसक्ने मन्त्रीले बताएका छन् । किराँतले भूगोल, सभ्यता र समुदायको पहिचान सबै समेट्ने हुँदा किराँत प्रदेशमा सबैको सहमति हुनसक्ने मन्त्री आङ्वोले बताएका छन् ।
इतिहासमा किराँत
नेपालको प्राचीन तथा ऐतिहासिक र राजनीतिक सुरुवात हेर्दा प्रमाणिक रूपमा किराँत कालबाट नै सुरु भएको हो भन्ने कुरा इतिहासले नै प्रमाणित गरेको छ । हुनत किराँत कालभन्दा अगाडी नेपालमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ तर प्रष्ट प्रमाणको अभावमा किराँत काल सुरु हुनुभन्दा अगाडीको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन । यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन् ।
यस कालका किराँती राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा सबैजसो इतिहासकारहरूले मानेका छन् । काठमाडौं उपत्यकामा पाइएका नियोलिथिक उपकरणहरूबाट यो थाहा पाइन्छ कि नेपालमा मानिसको बसोबास कम्तिमा पनि ९ हजार वर्ष पहिलादेखि हुँदै आएको छ । यसले देखाएको छ कि मानिसहरू जुन सायद किराँत जातिका थिए लगभग २५०० वर्ष अगाडी यहाँ बसोबास गर्दथे । किराँती जंगली र पहाडीहरूको एक जनजाति हो, जुन मध्ये एसिया, भारत र हिमालयबाट आएर बस्न थाले ।
नेपालमा २७ देखि ३२ किराँत राजाहरुले करिब ८०० बर्ष शासन गरे भन्ने कुरा विभिन्न ऐतिहासिक स्रोतहरुमा उल्लेख गरिएको छ । ति किरात राजाका सन्तानहरु मध्येमा सुनुवार, राई, लिम्बु, गुरुङ, मगर, नेवार, आदि इत्यादी जो नेपालमा मूलवासीको रुपमा चिनिन्छ । किराँतहरुको सम्पूर्ण दाजु, भाईहरु राजा हुने चलन चल्तीलाई किराँत शासन भनिन्छ । किराँत शासनकालमा ३२ जना राजाले राज्य संचालन गरेको पाईन्छ ।





