अनन्तराम केसीको अभियान आम नेपालीको पहिचानका लागि महत्वपूर्ण : डा. महत



२७ साउन २०७५,काठमाडौं

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सबैभन्दा लामो समय बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा रहनु भएका अनन्तराम केसीको अभियान आम नेपालीको पहिचानका लागि महत्वपूर्ण हुने बताउनु भएको छ ।

केसीको अभियानका विषयमा राजधानीमा शनिबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै डाक्टर महतले केसीको अभियानलाई मूर्त रुप दिन आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो । पूर्व मन्त्री समेत रहनु भएका डा. महतले आफ्नो तर्फबाट पनि केसीलाई सबै खाले सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले राष्ट्रको शीर उचो पार्ने अन्तिम तयारीमा रहनु भएका केसीलाई सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा केसीले नुवाकोट कांग्रेसको तर्फबाट अभियान सफलताको लागि ७५ हजार रुपैया सहयोग गर्नुभयो । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले नेपालीको सान बढाउन जो कसैलाई सहयोग गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस नुवाकोटका सचिव रमेश महतले केसीलाई सबैले तन, मन, धनले सहयोग गर्नुपर्ने भन्दै व्यक्तिगत रुपमा ३० हजार सहयोगको घोषणा गर्नुभयो । टोखा नगरपालिकाका प्रमुख प्रकाशकुमार अधिकारीले नगरपालिकाको तर्फबाट छिट्टै आर्थिक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा अन्य विविध पेशा तथा व्यवसायमा आबद्धहरुले पनि केसीलाई आर्थिक सहयोग गर्नु भएको थियो भने अन्यले सहयोगको प्रतिबद्धता जनाउनु भएको थियो ।

अभियानको संयोजन गरिरहेको संस्था न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष समेत रहनु भएका सामाजिक अभियन्ता कुमारराज सुवेदीले आफ्नो संस्थाले केसी जस्ता अन्य प्रतिभाशाली व्यक्तिहरुको प्रतिभालाई उजागर गर्ने बताउनुभयो । अभियानका आर्थिक संयोजक रविन थपलियाले देशको इज्जत प्रतिष्ठासँग जोडिएको केसीको अभियानलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । केसीको विश्व कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीमा शुरु हुनेछ ।

अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको छ । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गर्नुभएका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लाग्नुभएको हो । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताउनु भएको छ ।

उहाँले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधाहरु समेत छनोट गरिसकेको जानकारी दिनुभएको छ । नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौंको जोरपाटीलाई कर्मथलो बनाउनु भएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाउनु भए पनि त्यसलाई प्रमाणिकरण गरिएको थिएन । अहिले भारतका अश्विन सुडानीको नाममा लगातार ७५ घण्टा ३२ मिनेट बोलेको रेकर्ड छ ।

प्रतिक्रिया दिनुहोस्