रेखा देखि पलसम्म क–कसले प्रयोग गर्छन् महँगा भित्री वस्त्र ?



सामान्यतया अरूलाई देखाउन र आफ्नो पर्सनालिटीका लागि मान्छेहरू महँगो कपडा लगाउँछन् । तर, बाहिरी कपडाहरू मात्र होइन, भित्री कपडाहरू पनि महँगा र ब्रान्डेडमै मोह बढ्दै गएको छ । ५ हजार रुपैयाँसम्मका अन्डरवेयर र १० हजार रुपैयाँसम्म ब्रा नेपाली बजारमा बिक्री हुने गरेको छ । खासगरी नेपालका सेलेब्रेटीहरू इनर वेयरमा निकै ध्यान दिन्छन् ।

क–कसले प्रयोग गर्छन् महँगा भित्री वस्त्र ?

माल्भिका सुब्बा, पूर्वमिस नेपाल : भित्री वस्त्र दिनमा तीनपटकसम्म फेर्छु
भित्री वस्त्र लगाउँदा महिला एकदमै सचेत हुनुपर्छ । मैले घरमा बस्दा कटनको ब्रा र अन्डरवेयरको प्रयोग गर्ने गरेकी छु । बाहिर जाँदा लाइक्रा र भित्रपट्टि कटन भएको प्रयोग गर्छु । मलाई धेरैबेर ब्रा लगाउँदा ढाड दुख्ने, ग्यास्ट्रिक हुने हुन्छ । त्यसैले लामो यात्रा गर्नुपर्दा स्पोर्टस् ब्रा, टिसर्टमा प्याट भएको लगाउने गरेकी छु ।सकेसम्म नाइलन मिक्स भएको भित्री वस्त्र लगाउँदिनँ । अन्डरवेयर दिनमा तीनपल्टसम्म फेर्ने गर्छु । इन्फेक्सन हुने बढी सम्भावना भएकाले होसियारी अपनाउन जरुरी छ । म विभिन्न ब्रान्डका भित्री वस्त्रको प्रयोग गर्ने गर्छु ।

अनमोल केसी, नायक : विदेशी ब्रान्डको अन्डरवेयर प्रयोग गर्छु
म भित्री वस्त्रमा निकै संवेदनशील छु । सानैदेखि बक्सर साइजको अन्डरवेयर लगाउँथेँ । बक्सर लगाएर मार्सलआर्टको तालिममा किक हान्दा च्यातियो । त्यसैले अहिले भिसेपको अन्डरवेयर लगाउँछु । तर, पर्सनल्लीचाहिँ बक्सर नै प्रयोग गर्छु । म अरू कपडाजस्तो छाने पनि अन्डरवेयर भने ब्रान्डेड नै रोज्छु ।मलाई टमी हिलफिगर ब्रान्डको अन्डरवेयर मनपर्छ । तर, यो ब्रान्ड नेपालमा नपाइने भएकाले विदेश गएको वेला उतैबाट ल्याउँछु । मैले अहिलेसम्म महँगोमा तीन हजारसम्मको अन्डरवेयर लगाउँदै आएको छु । जोसुकै मानिस अन्डरवेयर लगाउँदा संवेदनशील हुनुपर्छ ।

रेखा थापा, अभिनेत्री : भित्री कपडा ब्रान्डेड लगाउँछु
भित्री वस्त्र लगाउँदा एकदम सचेत हुन्छु । यो विषय स्वास्थ्यसँग सम्बन्धित भएकाले पनि एकदम होसियार छु । बाहिरी कपडा जस्तोसुकै भए पनि मतलब लाग्दैन । तर, भित्री वस्त्रचाहिँ ब्रान्डकै चाहिन्छ । मेरो रोजाइमा भिक्टोरिया ब्रान्ड पर्ने गर्छ । बाहिर लगाउने कपडा जस्तोसुकै प्रयोग गरे पनि भित्री वस्त्र किन्दा एकदम सचेत हुनुपर्छ । ब्रान्डकै नभए पनि सुतीबाट बनेको प्रयोग गर्दा राम्रो हुन्छ ।

करिश्मा मानन्धर, अभिनेत्री : भित्री कपडा छोरीले विदेशबाट पठाइदिन्छे
म भित्री वस्त्र किन्दा सचेत हुने गरेकी छु । कतिपयमा भित्री वस्त्र त हो जस्तो लगाए पनि हुन्छ भन्ने सोच हुन्छ, जुन एकदमै गलत हो । यसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हुँदा सचेत हुन जरुरी छ । म बाहिर लगाउने लुगा ब्रान्ड नै होस् भन्ने सोच्दिनँ, मनपरे जस्तो पनि किनिहाल्छु ।

तर, भित्री वस्त्र मलाई ब्रान्डेड नै चाहिन्छ । भित्री वस्त्र प्रायः नेपालबाहिर नै किन्ने गरेकी छु । नन्दहरू, मेरी छोरी कविताले विदेशबाट पठाउने गरेका छन् ।

कोमल वली, गायिका : सहज भित्री वस्त्रले कन्फिडेन्स बढाउँछ
म भित्री वस्त्र किन्दा सहज हेर्छु । सहज र टिकाउका लागि ब्रान्डेड नै आवश्यक हुन्छ । आफूलाई सहज भयो भने कन्फिडेन्स पनि बढ्छ भन्ने लाग्छ । मैले सबैभन्दा बढी खरिद गर्ने भनेको नै भित्री वस्त्र हो, जुन प्रायः विदेशतिर जाँदा किन्ने गर्छु । मसँग पाँच÷६ वटा ब्रान्डका भित्री वस्त्र छन् ।जसको मूल्य दुई हजारदेखि आठ हजारसम्म पर्ने गर्छ । त्यसमा मार्स एन्ड स्पेन्सर, क्याल्भिन क्लेन, फेन्सी मी, जस्ट माई साइजलगायतका ब्रान्ड मेरो विशेष रोजाइमा पर्ने गर्छन् । हामी बाहिरी वस्त्र किन्दा जति पनि पैसा खर्च गर्न तयार हुन्छौँ, तर भित्री वस्त्र किन्दा भित्री त हो, छोपिने चिज न हो भनेर सोच्छौँ । जुन एकदम गलत पनि हो ।

पल शाह, नायक : डेढ हजारको अन्डरवेयर लगाउँछु
म भित्री कपडालाई निकै महत्व दिन्छु । किनभने भित्री कपडाले हाम्रो शरीरमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले भित्री कपडामा विशेषगरी अन्डरवेयर ब्रान्डेड नै लगाउँछु । मेरो रोजाइमा नेपाली बजारमै उपलब्ध हुने अन्डरवेयर पर्ने गर्छ । केल्भिन केलिन मलाई मनपर्ने ब्रान्ड हो । म मूल्यका हिसाबले १५ सयसम्मको अन्डरवेयर लगाउँछु ।

नवीना लामा, विद्यार्थी नेतृ : भित्री वस्त्र किन्दा धेरै ध्यान दिनुपर्छ
महिलाको स्वास्थ्य र भित्री वस्त्र एकदमै अन्तरसम्बन्धित विषय हुन् । यसले गर्दा भित्री वस्त्र किन्दा महिलाले एकदम ध्यान दिन जरुरी छ जस्तो लाग्छ । म पहिला चार–पाँच सय पर्ने भित्री वस्त्र प्रयोग गर्थें, तर एकपटक मेरी दिदीले भिक्टोरिया सिक्रेट ब्रान्डको गिफ्ट गर्नुभएपछि त्यही प्रयोग गर्न थालेँ ।

म त्यस्तो ब्रान्ड नै प्रयोग गर्ने मान्छे त होइन, तर सहज भयो भने आफूलाई छुट्टै कन्फिडेन्स हुन्छ जस्तो लाग्छ । मेले स्पोर्टस् ब्रा पनि आफूलाई सहज हुने खालको प्रयोग गर्ने गरेकी छु । जगिङ जाँदा नाइक, एडिडासको स्पोर्टस् ब्रा प्रयोग गर्छु ।

प्रतिक्रिया दिनुहोस्