नायिका स्वेता खड्काले स्व. पति श्रीकृष्णको चौथो वार्षिकीमा लेखिन भावुक कविता



२६ साउन २०७५, काठमाडौं

निमोनिया र क्यान्सरबाट पिडित नेपाली चलचित्रका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको चार वर्ष पूरा भएको छ । नायिका स्वेता खड्कासँग विवाह गरी हनिमुनको क्रममा सिमला गएका बेला उनी बिरामी परेका थिए ।

वि.स.२०७१ साल साउन २४ गते उपचारको क्रममा नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा उनको निधन भएको थियो । नायिका स्वेता खड्कासँग लगनगाँठो कसेको महिना दिन वित्न नपाउँदै विरामी परेका नायक श्रेष्ठ आफ्नै लगानीमा बनेको चलचित्र कोहिनुर प्रदर्शनमा समेत उपस्थित हुन सकेनन् । यही नै उनीद्वारा निर्मित तथा अभिनित अन्तिम चलचित्र बनेको थियो ।

नयिका स्वेता खड्काले आफ्ना श्रीमान अभिनेता स्व.श्रीकृष्ण श्रेष्ठको चौथो वार्षिकीको दिनमा भावुक कविता पोष्ट गरी श्रद्धाञ्जली दिएकी छिन् । हाल अभिनेत्री तथा नायिका स्वेता खड्काद्वारा निर्मित चलचित्र कान्छीको प्रदर्शनका लागि अमेरिका पुगेकी खड्काले सामाजिक सञ्जाल फेसबुकमा स्व.श्रीमानका लागि यस्तो भावुक कविता लेखेकी छिन् :

_________श्रद्दान्जली__________

सम्झँदा’नी मुटु बिझ्छ,आजको यो दिन
परेली यो उसै भिझ्छ, आजको यो दिन

तिलहरीसंगै सारा, खुशी चुँडिएथ्यो
बियोगको बेदनामा मुटु कुँडिएथ्यो
मैले पुज्ने देउताबाट,हाँसो लुटिएथ्यो
जिन्दगीको एउटा साथ,आजै छुट्टिएथ्यो

मेरो कालो अतित बोल्छ ,आजको यो दिन
भतभत्ती मुटु पोल्छ, आजको यो दिन

रोदनमा बिते मेरा ,कैयौ पलहरु
छट्पट्टिमा बिते मेरा, सैयौ पलहरु
लाखौ चोट मुटु भित्र,पालेकी छु मैले
तर पनि आशाको दीप, बालेकी छु मैले
दिक्कलाग्दो गित गाउँछ ,आजको यो दीन
घुमीफीरी किन आउँछ ,आजको यो दीन

“चार बर्षको बियोगले सिथिल बनेको यो आत्माबाट पिडाको शब्दबाहेक खुशीका शब्दहरु प्रस्फुटित हुन सकेनन । हजुरमा समर्पित यिनै शब्दहरु मार्फत श्रद्दान्जली अर्पण गर्न चाहन्छु । क्षितिज पारीबाटनै मलाई हेरिराख्नु र मभित्र आँट, साहस र उत्साह प्रदान गरिरहनु है !”

उनको फेसबुक स्टाट्स यस्तो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्