
२५ साउन २०७५, राजविराज
नेपाली काङ्ग्रेसले सप्तरी जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी कृषकलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।
उक्त पार्टीको जिल्ला कार्यालयले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति दिनेशकुमार यादवले वर्षा र सिँचाइको उचित व्यवस्था नहुँदा यनका कृषक मारमा परेको भन्दै सो माग गरिएको बताए ।
जिल्लामा देखिएका विभिन्न समस्या समाधान हुन नसकेको, जिम्मेवार पदमा बसेकाले प्रभावकारी अनुगमन गर्न नसकेको र विकास निर्माणका योजनामा आर्थिक अनियमितता भइरहेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनले जानकारी दिए ।
जिल्लामा तीनै तहबाट भइरहेका विकास निर्माणका कार्यको समितिमबाट प्रभावकारी अनुगमन हुनुपर्नेमा समेत सभापति यादवले जोड दिए ।
पत्रकार सम्मेलनमा स्थानीय नेता ध्रुव देवले राजविराज नगरपालिकाले अदालतको आदेशलाई लत्याउँदै राजनीतिक प्रतिशोधका कारण आफ्नो घर भत्काएको आरोप लगाए ।
नगरपालिकाले पूर्वसूचना बिना आफ्नो घर तोडफोड गरेको बताउँदै उनले भित्री सडक बिस्तारका नाममा आफ्नो घरलाई मात्र लक्षित गरी तोडफोड गरिएकामा आपत्ति पनि जनाए ।





