चलचित्र कायरालाई छोट्याए आर्यनले



२५ साउन २०७५, काठमाडौँ

चर्चित अभिनेता आर्यन सिग्देल र युवापुस्तामा निकै लोकप्रिय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म कायरा गएको शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको थियो । तर चलचित्रको लोकेशन, स्टार कास्ट र गीतसंगीत राम्रो भएतापनि अधिकांश दर्शकले चलचित्र लामो, स्लो र लेन्दी भएको बताएका छन् । तर चलचित्रका निर्माता पनि रहेका नायक आर्यन सिग्देलले दर्शकको प्रतिक्रियालाई पोजेटिभ रुपमा लिएका छन् ।

चलचित्र लामो भयो भनेर कमेन्ट आईरहँदा अब आज शुक्रबारदेखि दर्शकले चलचित्र नयाँ रुपमा हेर्न पाउने भएका छन् । नायक आर्यन सिग्देलले चलचित्रलाई छोट्याएका छन् । २ घण्टा २१ मिनेटको चलचित्रलाई उनले छोट्याएर २ घण्टा ५ मिनेटको मात्र बनाएका छन् । अब छोट्याइएको चलचित्रलाई दर्शकले कत्तिको रुचाउने हुन् । त्यो भने हेर्न बाँकी नै छ । नेपालमा चलचित्रले राम्रै व्यापार गरिरहँदा बुधबार चलचित्रका मुख्य कलाकार आर्यन र साम्राज्ञी चलचित्रको प्रचार प्रसारको लागि दुबई उडेका छन् ।

प्रतिक्रिया दिनुहोस्