फेरिदै कांग्रेसको मुद्दा : गंगामाया, डा.केसी हुँदै अहिले हेमानन्दसम्म



२५ साउन २०७५, काठमाडौं

लामो समय सत्तामा रहेको नेपाली कांग्रेस केही समय सत्ता बाहिर हुँदा निकै छटपटीमा देखिन्छ । सरकारको नेतृत्वमा हुँदा कांग्रेसले समाधान नै गर्न नसकेको मुद्दाहरु उचालेर सरकारलाई अप्ठ्यारो पार्दै आएको देखिन्छ ।

गंगामाया अधिकारीको परिवारमा परेको बज्रपात सामान्य होइन । निर्दोष छोरा गुमाएका दम्पती न्याय माग्दै लामो समय अनसनमा बसे ।  अनसनकै क्रममा गंगामायाले आफ्नो पति गुमाईन । छोरो गुमाएर पीडामा परेकी गंगामायालाई जीवन साथीको वियोगले झन् पीडा थप्यो ।  अघिल्लो सरकारले एक पिडित महिलासँग सम्झौता गर्यो–कार्यान्वयन गरेन ।  सत्ताको पीडाबाट चट्पटाएको कांग्रेसले यहि मुद्दालाई हतियार बनायो ।  समयमा नै सरकारले गंगामायाको मागलाई सम्बोधन गर्यो । कांग्रेस जिल्लियो !

राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टले हेमानन्दको विषयमा प्रकाशन गरेको समाचार

कांग्रेसका निकै क्रान्तिकारी नेता गगन थापा स्वास्थ्य मन्त्री बने । स्वास्थ्यमा नया–नयाँ योजना सिर्जना गरी स्वास्थ्य मन्त्रालयमा निकै समर्थकलाई भर्ना गरे ।

गोविन्द केसीसँग सम्झौता गरे ।  तर कार्यान्वयन गर्न चाहेनन् ।  सरकारबाट बाहिर हुने बित्तिकै तिनै गगन संसद र सडकबाट कुर्लिए ।  डा. केसीका माग सम्बोधन गर्न नसक्ने नालायक सरकार, अधिनायकबादी सरकार !

यो पटक कांग्रेसले गंगामाया आन्दोलनबाट सिकेको अनुभवले केसीलाई कर्णाली पुर्यायो ।  काठमाण्डौ भए छिट्टै माग सम्बोधन हुने भएकोले कर्णालीमा राखेर कसैलाई छिर्न नदिई निरन्तर आन्दोलन चर्काउने योजनामा रहेको कांग्रेसले आंशिक सफलता भने हासिल गर्न सफल भयो ।

 

हेमानन्दलाई पशुपतिमठाधिशको रुपमा प्रदान गरिएको प्रमाण पत्र

नेपालमा कार्यरत २३००० भन्दा बढी डाक्टरहरुको नेतृत्व गर्ने नेपाल चिकित्सक संघमा करिव ५००० सदस्यहरु छन् ।  चिकित्सकको हक हित गर्न स्थापित सो संस्थाले आजसम्म राजनीति भन्दा बढी केही नगरेको डाक्टरहरु नै बताउँछन ।  दुई तिहाई भन्दा बढी कांग्रेस समर्थकहरु सदस्य रहेको चिकित्सक संघमा उनीहरु नै आलोपालो नेतृत्वमा रहन्छन ।  कांग्रेसको भात्तृ संगठन जस्तै रहेको संघलाई कांग्रेस कै योजनामा संचालन गरी डा.केसीको आन्दोलनले नागरिक आन्दोलनको रुप ग्रहण गर्न सफल भयो ।  सरकारले डा.केसीका जायज माग सम्बोधन गर्यो ।  कांग्रेस फेरी जिल्ल ।

हेमानन्दलाई काशी विद्वत परिषदले अवैधानिक घोषणा भएको प्रेस विज्ञप्ती

दुई तिहाई नेपालीहरु हिन्दू धर्ममा आस्था राख्छन । धेरै नेपालीहरुलाई नेपाल धर्म निरपेक्ष भएको मन परेको छैन ।  नेकपाका समेत धेरै केन्द्रीय नेताहरु यसमा खुशी छैनन् । आम नागरिकहरु त हुने कुरै भएन । सत्ताको अनुभवी कांग्रेसले यति सामान्य कुरा नबुझ्ने सवाल नै भएन ।  यसलाई सहि ढंगले उपयोग गर्ने योजनामा केही समयदेखि हिन्दु जागरणको मुद्दालाई कांग्रेस उच्च नेतृत्वले उठाउँदै आएको छ ।

महिला मैत्री बन्दै गएको नेपालमा धेरै महिलाहरुले विभिन्न अवसरहरु पाईरहेका छन् । महिला आन्दोलनसँग जोड्दा धेरैको सहानुभूति प्राप्त गर्ने उद्देश्यले कांग्रेस अहिले हेमानन्द गिरीलाई शंकराचार्य भन्दै योजनावद्ध प्रचारप्रसारमा छ ।

कांग्रेसकै कार्यकर्ता हुन् हेमा ढुंगाना :
मोरङ्गको पथरी बजार निवासी हेमानन्द गिरी महाराज भनिने साधिका हेमाको माइती थर ढुँगाना हो । उनले महेन्द्र मोरङ्ग क्याम्पस बिराटनगर पढदा नेबिसंघबाट राजनीति सुरु गरी स्ववियुमा निर्वाचित समेत भएको बुझिन्छ । नेपाली काँग्रेसमा खुमबहादुर खड्का शक्तिशाली हुँदा उनी शक्तिशाली थिईन । खुमबहादुरको पलायन सँगै उनले पनि कांग्रेसको राजनीति छोडिन ।

नवभारत टाइम्समा प्रकाशित हेमानन्दको खण्डन समाचार

हेमाको विवाह सुनसरीको दुहबीमा भएको भएपनि घरजम धेरै टिक्न सकेन । त्यसैले विवाह भएपनि उनी आमा भने बनिनन् । समयक्रममा रामदेवसँग जोडिएर पतंजली योग पीठमा समेत संलग्न भईन । त्यसबाट समेत अपेक्षित उपलब्धी हासिल गर्न नसकेपछि हिन्दु जागरणको अभियानमा संलग्न भईन ।

४२ वर्षीय हेमा धार्मिक आन्दोलनमा लागेको छोटो समयमा नै निकै चर्चित बन्न सफल भईन ।  उनमा भएको वैदिक ज्ञान, अनुभव प्रसंशनीय हुन सक्छ तर उनले राजनीति जस्तै गरी छोटो समयमा चर्चित हुने उपायले आफू निकट संस्थालाई शंखराचार्य भएको घोषणा गर्न लगाईन् । विभिन्न कार्यक्रम आयोजना गर्न लगाई सम्मानित हुने प्रक्रियाले उनको ज्ञान माथि नै प्रश्न उठ्न सक्ने देखिन्छ ।

झापा अनलाईनले धर्मगुरुले ढाटिन शिर्षकमा प्रकाशित समाचार

प्रचारको क्रममा उनका समर्थक भनिएका कांग्रेस कार्यकर्ताहरु उनलाई पहिलो महिला शंखराचार्य भन्दै हिडेका छन् । रेडियो नेपालले प्रकाशन गरेको अनलाईन समाचार अनुसार कांग्रेसका प्रभावशाली नेता गगन थापाले उनी विश्वकै पहिलो महिला शंखराचार्य भन्दै हिन्दू धर्मको जागरण र संरक्षणमा महत्वपूर्ण योगदान दिने विश्वास गरेको उल्लेख छ ।

रेडियो नेपालले प्रकाशन गरेको शंखराचार्य हेमानन्द गिरी सम्मानित विषयको समाचार

उनका समर्थकहरु उनी शंखराचार्य भएको दावी गर्छन तर जुन संस्थाले सो पदवी दिने हो उसले झुटा समाचार भनेर खण्डन गरिसकेको छ । उनको प्रचारलाई लिएर भारतमा पनि असर परेपछि अहिले पत्रपत्रिका र आधिकारिक धार्मिक संस्थाहरुले दावी गलत भएको भन्दै विज्ञप्ती समेत जारी गरेका छन् ।

शंखराचार्य हेमानन्द गिरीलाई झापामा सम्मानित शिर्षकमा नयाँ पत्रिकाले प्रकाशन गरेको समाचार

 

जगतगुरु पशुपतिमठाधिशको नाममा चर्चा कमाउँदै गरेकी धार्मिक अभियान्ता हेमानन्द गिरीको विषयमा आधिकारीक धारणा बुझ्दा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश कुमार उप्रेती भन्छन्, ‘पशु्पतिनाथ भगवान शिवको ज्योर्तिलिङ्ग भएको संसारकै एकमात्र पवित्र मन्दिर हो । पशुपतिमठाधिश बारेमा हामीलाई थाहा छैन, हुँदै नभएको मठ सिर्जना गरी शंखराचार्य भन्दै हिड्नु लज्जास्पद छ । मेरो बुझाईमा जनै लगाएको ब्रम्हचारी मात्र सो पदवी पाउन योग्य हुन्छन् ।’

व्यक्तिगत तथा दलगत स्वार्थमा भईरहेको धार्मिक आन्दोलनले भित्री रुपमा नेपालको राष्ट्रिय एकता, शान्ति र अखण्डतामा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

गहिराईमा बुझ्दै नबुझी राष्ट्रिय संचारमाध्यमहरुले समेत गलत समाचार सम्प्रेषण गर्नु आफैंमा शंकास्पद देखिन्छ । हल्लै हल्लामा चलेको देश भनिए जस्तै समयमै सम्बन्धित निकायले ध्यान नदिने हो भने धार्मिक आस्थालाई आधार बनाई हिंसा नभड्काउला भन्न सकिन्न ?

प्रतिक्रिया दिनुहोस्