
२३ साउन २०७५, काठमाडौं
संघीय सरकारले कटाएका ४ वटा बिदा प्रदेश १ सरकारले दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेशमा बिदा दिन पाउने संबैधानिक अधिकारको प्रयोग गर्दै ४ बटा दिनमा प्रदेश भरी सरकारी बिदा दिने निर्णय गरेको हो ।
संघीय सरकारले दिएको बिदाका अतिरिक्त प्रदेश सरकारले रक्षाबन्धन र आदिवासी जनजाति दिवसमा प्रदेशभर, छठ पर्वमा तराईका जिल्लामा र विराटनगरमा १८ भदौमा हुने श्री राधाकृष्ण रथयात्राका लागि मोरङ र सुनसरीमा बिदा दिने निर्णय गरेको थियो । सो निर्णयको विरुद्धमा अधिवक्ता मोहनसिंह लिम्बूले प्रदेश सरकारले दिएका सार्वजनिक बिदा राष्ट्रिय हित प्रतिकूल भएको भन्दै दायर गरेको रिट उच्च अदालत बिराटनगरले खारेज गरेसँगै सरकारले निर्णय गरेका बिदा कार्यान्वयनमा आएका हुन् ।
आन्तरिक मामला तथा कानुन मन्त्रालय प्रदेश १ ले जारी गरीको सुचना अनुसार संघीय सरकारले तोकेका बिदाका अतिरिक्त प्रदेश १ मा बिश्व आदिवासी दिवस श्रावण २५ गते बिहीवार, जनै पुर्णीमा भाद्र १० गते आइतवार, कात्तिक २७ गते मंगलवार प्रदेश भर र भाद्र १८ गते सोमवार बिराटनगरमा हुने राधाकृष्ण रथयात्रामा सुनसरी र मोरङमा बिदा दिने भएको छ ।





