सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै



२२ साउन २०७५, पाँचथर

भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाँउलाई नेपालको सिमानामा रहेको चिवा भन्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ ।

नेपाल सिक्किमबीच प्रवेश बिन्दु चिवा भन्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पु¥याउनुका साथै सिक्किम र नेपाल जोड्ने पहिलोस्तरीय सडक सम्पर्क हुने बताइएको छ । १०० किमीसम्म सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक सम्पर्क छैन ।

उत्तरी–चिवा भन्ज्याङ मार्ग १८ किलोमिटर लामो हुनेछ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु विनियोजन गरेको सोे सडक यो वर्षको माघसम्म निर्माण भइसक्ने आशा गरिएको छ ।

शहरी विकास र आवास विभागमन्त्री एनके सुब्बाले यो सडक धेरै पहिले निर्माण भइसक्नुपर्ने थियो तर वातावरणीय अनुमतिमा भएको ढिलाइले निर्माण कार्य ढिलो भएको बताए । “हाल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । पुसको मध्यसम्म सडक निर्माण भइसक्ने अनुमान गरिएको छ ।” उनले भने ।

स्थानीयका अनुसार खुला सिमानाको कारण दुवैतर्फका जनताले वर्षौंदेखि सानो स्तरमा यहाँबाट व्यापार गरिरहेका थिए । “नून, चिनी तथा मट्टितेलजस्ता सामग्री पहिलेदेखि सीमा क्षेत्रमा व्यापार हुन्थ्यो ।”

प्रतिक्रिया दिनुहोस्