नमस्ते झरना पर्यटकका लागि पुनः सुचारु



२२ साउन २०७५, धनकुटा

गत असार १ गते परिवारसँगै नमस्ते झरना घुम्न गएका बिक्रम तामाङको ढुङ्गाले लागेर ज्यान गएपछी जान रोक लगाईएको पुर्वको पर्यटकीय गन्तब्य नमस्ते झरना मंगलवारबाट खुलेको छ । धनकुटाको सागुरीगढी वडा नं. ६ सिम्सुवामा रहेको झरना क्षेत्रलाई सुरक्षित बनाएपछि पर्यटकको लागि खुल्ला गरिएको झरना व्यवस्थापन समितिले जनाएको छ ।

पटकपटक पर्यटक सुरक्षामा ध्यान नपुर्याएको भन्दै झरनाका बिषयमा समाचार सार्वजनिक भएपनि व्यवस्थापन समितिले चासो नदिदा गत असार १ गते इटहरी उपमहानगरपालिका वडा नं.९ का विक्रम तामाङलाई झरना क्षेत्रमा अचानक ढुङ्गाले लागेर घाईते भएका थिए । उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएपछि झरनामा पर्यटक आवागमन ठप्पपारी सुरक्षित बनाउने काम गरिएको छ । हाल झरना घुम्न आउने पर्यटकको सुरक्षाको लागि झरनाको दायाँ–बायाँ माछीकाँडे जाली लगाइएको छ ।

व्यवस्थापन समितिका संस्थापक अध्यक्ष अग्नि लिम्बूका अनुसार साँगुरीगढी गाउँपालिकाको ६ लाख आर्थिक सहयोग र स्थानीय समुदायको ५० हजार गरी ६ लाख ५० हजारमा झरनामा ढुङ्गा नझर्ने गरी माछीकाँडे जाली लगाउने काम सकिएको छ । झरनाको दायाँ–बायाँबाट आरसिसी पिलर उठाएर दुवैतिर २ मिटर माथिबाट माछीकाँडे जाली लगाइसकिएको लिम्बूले बताए ।

झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार लिम्बूका अनुसार मङ्गलबार बिहानदेखि औपचारिक रूपमा झरनामा आवत–जावत खुल्ला गर्ने जानकारी दिएका छन् ।

एक दशक अघिसम्म गुमनाम अवस्थामा रहेको धनकुटा जिल्ला स्थित नमस्ते झरना पुर्वाधार विकास गरी प्रचार प्रसारलाई तिव्रता दिएसँगै नेपाली तथा भारतीय पर्यटकको प्रमुख आर्कषणको गन्तव्य बनेको छ । कोशी राजमार्ग अन्तर्गतको सिम्सुवागोलाबाट करिब दुई किलोमिटरको दुरीमा रहेको सो क्षेत्रमा सुनसरी, मोरङ्ग, झापासंगै भारतीय सिमावर्ती शहरका पर्यटक पुग्ने गरेका छन् । बिशेषत गर्मीको मौसममा तराईका पर्यटकको प्रमुख गन्तब्यमा पर्ने गरेको झरनामा बिदाको दिन ३ हजारको हाराहरीमा पर्यटक पुग्ने गरेका थिए । बिगत १ महिना भन्दा लामो समयसम्म झरना बन्द हुँदा त्यहाँको ब्यापारिक गतिविधिमा समेत असर पुग्दै आएको थियो । दैनिक २५ हजार माथिको ब्यापार गर्ने त्यहाँका होटल व्यवसायीलाई असार १ देखि श्रावण २० सम्म सटरको भाडा तिर्न नै धौधौ परेको होटल व्यवसायी चन्द्रकला राईले बताइन् ।

धनकुटाको भेडेटार तथा नाम्जेपछि पर्यटकहरुले प्राकृतिक नमस्ते झरनालाई आफ्नो गन्तव्य बनाउने गरेका छन् । करिव ६० मिटर अग्लो सो झरनाकै कारण सो क्षेत्रका सयौं सर्वसाधारणले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्