विमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा हुँदै



२२ साउन २०७५, काठमाडौं

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन सोल्टीमोडस्थित सोल्टी होटलमा हुने सम्भावना बढेको छ ।

बिमस्टेक राष्ट्रका राष्ट्राध्यक्षका लागि आवश्यक पर्ने पर्याप्त सुईट राजधानीका अन्य होटलमा नभएका कारण कालिमाटीस्थित सोल्टी होटलमा गर्न लागिएको हो ।

पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स बाहेक दक्षिण एसियाली शिखर सम्मेलन (सार्क) मा पाँच सदस्य राष्ट्र नेपाल, बंगलादेश, भुटान, भारत, श्रीलंका, अनि सार्क बाहिरका थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्रहरुको समूह बिमस्टेकको शिखर सम्मेलन आगामी १४, १५ भदौमा काठमाडौँमा हुँदैछ ।

सम्मेलनमा कार्यकारी भूमिकामा रहेका सात वटै बिमस्टेक मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु सहभागी हुनेछन् । ७ जना कार्यकारी प्रमुखहरुका लागि आवस्यक पर्ने सात वटै सुइट सोल्टीबाहेक राजधानीका कुनैपनि पाँचतारे होटलमा छैनन् ।

‘सोल्टीपछि धेरै सुइट भएको ह्यात रिजेन्सी होटल हो, तर त्यहाँ जम्मा ३ वटामात्र सुइट छन्, फरक फरक होटलमा राख्दा सुरक्षाका दृष्टिले उपयुक्त हुँदैन’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘त्यसैले कार्यकारी प्रमुखहरुलाई सोल्टीमा नै राख्ने र सम्मेलनपनि त्यहीँ गर्ने योजना छ ।’

सात वटै सदस्य राष्ट्र भएको सार्क शिखर सम्मेलन चार बर्षअघि नै काठमाडौँमा हुँदा भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा गरिएको थियो । तर, सोल्टी होटलमा गरिने भएका कारण राष्ट्रिय सभागृहमा सोही अनुसारको तयारी गरिएको छैन ।

बिमस्टेकको तेस्रो शिखर सम्मेलन चार बर्षअघि म्यानमारमा भएको थियो । सो शिखर सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए । सम्मेलनबाट बिमस्टेकको नेतृत्व नेपालले पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्