फेकोफन प्रदेश ५ मा बसन्ती अधिकारी



२० साउन २०७५, काठमाडौं

सामुदायिक वनको प्रतिनिधिमूलक संस्था सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल प्रदेश ५ को प्रथम अधिवेशनवाट वसन्ती अधिकारी अध्यक्षमा निर्विरोध चयन हुनु भएको छ । उपाध्यक्षमा तिलकराम भण्डारी, सचिव राम मल्ल ठकुरी, कोषाध्यक्ष मिना पाण्डे सहित ५० सदस्यीय प्रदेश कार्यसमिति चयन भएको छ ।

प्रदेश ५ अन्तरगत रहेका १२ जिल्लाका ६७९ भन्दा वढि प्रतिनिधिहरुको सहभागीता रहेको यस अधिवेशनको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले गरेका थिए ।  उद्घाटन मन्तव्यको क्रममा वन क्षेत्रलाई प्रभावकारी वनाउन लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेकोले सामुदायिक वनलाई आवश्यक पर्ने सेवा सुविधा पनि स्थानीय तहवाटै हुनु पर्ने बताए । सो समारोहमा फेकोफनका केन्द्रीय अध्यक्ष गणेश कार्की, संस्थापक अध्यक्ष हरिप्रसाद न्यौपाने, पूर्व अध्यक्षहरु अप्सरा चापागाई, घनश्याम पाण्डे लगायतका वक्ताहरुले सामुदायिक वन र महासंघको वारेमा चर्चा गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले सामुदायिक वनको पक्षपोषणमा निरन्तर लागि रहने कुरा व्यक्त गर्दै प्रदेश स्तरका वन सम्वन्धी कानून वनाउँदा प्रभावकारी भूमिका खेली समुदाय मैत्री कानून तर्जुमाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष अधिकारीले सामुदायिक वन र महासंघ विचको सम्वन्ध सुदृढ वनाउने अभियान सञ्चालन गर्ने र सामुदायिक वनमा देखापरेका सवालहरु उपर सदैव पैरवी गरिरहने कुरा बताए ।

यस प्रदेशमा ३४२० वटा सामुदायिक वन उपभोक्ता समूहहरु रहेका छन् । त्यसै गरी १११ वटा स्थानीय तह रहेका ९० वटा तहमा फेकोफनको संरचना निर्माण भएको छ । स्मरण रहोस् फेकोफनका प्रदेश स्तरका संरचनाहरु मध्ये महिला अध्यक्ष निर्वाचित गर्ने यो पहिलो प्रदेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्