सम्पत्ति विवरण बुझाउन अटेर गर्ने ११२ दललाई कारबाही गरिने



२० साउन २०७५, काठमाडौं

निर्वाचन आयोगमा तोकिएको समयभित्र पार्टीका पदाधिकारी र सदस्यको सम्पत्ति विवरण नबुझाउने ११२ राजनीतिक दललाई जरिवाना हुने भएको छ ।

आयोगमा दर्ता भएका १२५ राजनीतिक दलमध्ये १३ वटा राजनीतिक दलले मात्रै आफ्ना पार्टीका पदाधिकारी र सदस्यको सम्पत्ति विवरणसम्बन्धी पत्र आयोगमा पेश गरेका छन् । विवरण नबुझाउने दलमध्ये राष्ट्रिय जनता पार्टी नेपाल पनि छ । यसैगरी, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी, राप्रपा (प्रजातान्त्रिक) लगायतका दलहरुले पनि विवरण बुझाएका छैनन् । आयोगको आग्रहलाई अटेर गरेर विवरण नबुझाउने दलहरूलाई कानुनअनुसार कारबाही हुने आयोगले जनाएको छ ।

राजनीतिक दलका केन्द्रीय पदाधिकारीले पार्टीमा निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्ति विवरण सिलबन्दी गरी सम्बन्धित दलको कार्यालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

यस्तै राजनीतिक दलसम्बन्धी ऐनको दफा ५४ को खण्ड ९घ० का तोकिएको अवधिभित्र विवरण पेश नगरेमा पाँच हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्