“सोल्टी” र “मितिनी” लाई चीन पठाउने तयारी थालियो



१८ साउन २०७५, चितवन

चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालिएको छ ।

चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको जानकारी आएको बताइएको छ ।यसअघि असार २८ गते एक जोडी गैँडा चीन पठाइएको थियो । दोस्रो जोडी गैँडामध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम “सोल्टी” र डेढदेखि दुई वर्षको पोथीको नाम “मितिनी” राखिएको छ ।

बाटोका कारण दुई दिनअघि नै साउन २९ गते गैँडा काठमाडौँ पठाइँदै छ । निकुञ्जबाट नियन्त्रणमा लिइएका गैँडा हाल सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा खाल्टो खनेर (पिटबुमामा) राखिएको छ ।

यसअघि झैँ पछिल्लो जोडी गैँडा पठाउँदा निकुञ्जका चिकित्सक, प्राविधिक र सहयोगी पठाउने तयारी गरिएको छ । पहिलो जोडी गैँडा पठाउँदासँगै गएका चिकित्सक र प्राविधिक फर्किसकेका छन् । सहयोगी अझै फर्किएका छैनन् ।

दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने बताएका थिए ।  सोहीअनुरुप अहिले गैँडा पठाउन लागिएको हो । चीनमा दुई जोडी गैँडा पठाएपछि यस निकुञ्जबाट हालसम्म उपहारस्वरुप विभिन्न देशमा पठाइएका गैँडाको संख्या ३० पुग्छ ।

प्रतिक्रिया दिनुहोस्