महिला सञ्जालद्वारा कारवाही गर्न माग



१६ साउन २०७५, काठमाडौँ

अन्तरपार्टी महिला सञ्जालले कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ निवासी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको शीघ्र छानबिन गरी दोषीलाई कडा सजाय गर्न माग गरेको छ ।

घटना भएको एकसाता बितिसक्दा पनि स्थानीय प्रशासनले घटनाका अपराधी पत्ता लगाउन नसकेको र घटनाप्रति गम्भीरता नदेखाएको भन्दै सञ्जालले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

गत बिहीबार बिहान ११ बजे साथीको घरमा गएकी उक्त बालिकाको शुक्रबार भीमदत्त पन्त नगरपालिका–१८ निमखुखेडास्थित उखुबारीमा शव फेला परेको थियो । सञ्जालद्वारा जारी विज्ञप्तिमा घटनाको छानबिन गरी अपराधी पत्ता लगाई सर्वस्वहरणसहित आजीवन काराबासको सजाय गर्न माग गरिएको छ ।

सञ्जालका अध्यक्ष नीलम बर्मा र महासचिव कल्याणी रिजालद्वारा विज्ञप्तिमा बलात्कृत बालिकाका आफन्तलाई उचित क्षतिपूर्ति दिन सरकारसँग अपिल गर्दै बालिकाप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

सञ्जालले महिला तथा बालबालिकामाथि हिंसा र अपराधका घटना बढेको भन्दै सुरक्षा व्यवस्था मजबुत बनाई शान्तिपूर्ण जीवनयापनको वातावरण सिर्जना गर्न सरकार समक्ष माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्