
१५ साउन २०७५, काठमाडौँ
बलिउड अभिनेत्री प्रियंका चोपडाले अचानक फिल्म ‘भारत’ छाडेपछि नयाँ लिड हिरोइनको खोजी भएको थियो । चलचित्रका लागि कयौँ अभिनेत्रीको नाम छनोटमा आयो तर बाजी चाहिँ कैटरिनाले मारेकी छिन् । अन्नत ः यो चलचित्रमा सलमान खानको फेभरेट कैटरिना कैफ नै अनुबन्धित भएकी छिन् ।
पछिल्लो समयमा ‘टाइगर जिन्दा हे’ पछि ‘भारत’ मा सलमान र कैटरिना एकसाथ देखिन लागेका हुन् । अभिनेता सलमानले पनि सामाजिक सञ्जालमार्फत् कैटरिनालाई फिल्ममा स्वागत गरेका छन् ।
निर्देशक अली अब्बास जफरले यो प्रोजेक्टका लागि कैटरिनालाई छोटो समयमा सेलेक्ट गरिएको बताए ।
फिल्म ‘भारत’ बाट सलमान र प्रियंका करिब १ दशकपछि पर्दामा देखिँदै थिए । तर विदेशी ब्वाईफ्रेण्ड निकसँग विवाह गर्ने तयारीमा रहेका कारण प्रियंकाले फिल्म छाडेको चर्चा छ ।
अली अब्बास जफर र सलमान खानले यसअघि दुई फिल्ममा काम गरिसकेका छन् । वर्ष २०१६ मा आएको फिल्म ‘सुल्तान’ र वर्ष २०१७ मा आएको फिल्म ‘टाइगर जिन्दा हे’ मा सलमान र जफरलेसँगै निर्देशक र एक्टरको रुपमा काम गरेका थिए ।
यसको अलावा पछिल्लो फिल्म ‘टाइगर जिन्दा हे’ मा कटरीना कैफ पनि सामेल रहेकी थिइन् । अब यी तीन एक पटक फेरी धमाका मच्चाउन आउने भएका छन् । रिपोर्ट्सका अनुसार, यो फिल्म २०१९ को ईदमा रिलिज हुनेछ ।





