
१३ साउन २०७५, काठमाडौं
सैनिक आवासीय मा.विमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको संगठन सल्लाघारी एल्मुनाई एशोसियशन नेपाल (सान)ले काठमाण्डौँ जिल्ला गोकर्णेश्वर न.पा.४ स्थित अपाङ्ग बालबालिकाहरुको पूर्नस्थापना केन्द्रमा रहेका बालबालिकाको सहयोगको लागि स्कूल ब्याग लगायत शैक्षिक साम्रगी तथा खाद्यान्नहरु प्रदान गरेको छ ।

उक्त अवसरमा संस्थाका प्रथम संरक्षक तथा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल, संस्थाका अध्यक्ष पूर्व उपरथी तारा ब. कार्की समाजसेवी उर्मिला डंगोल लगायत संगठनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पूर्नस्थापना केन्द्रका अध्यक्ष उदय बहादुर लिम्बुले संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै यस संस्थाबाट अगामी दिनमा यस्तै सहयोगको अपेक्षा गर्दै यो संस्था जस्तै सबैले केही सहयोग गरिदिए केन्द्र संञ्चालन गर्न सकिन्थ्यो भनी आफ्ना समस्या व्यक्त गरेका थिए ।

सानका अध्यक्ष तथा संरक्षकहरुले आगामी दिनमा समेत पूर्नस्थापना केन्द्रलाई निरन्तर सहयोग रहने समेत जानकारी दिए । सोही अवसरमा केन्द्रका तर्फबाट अपाङ्ग बाल–बालिकाले गीत गाउनुका साथै नृत्य समेत प्रस्तुत गरेका थिए ।

सल्लाघारी एल्मुनाई एशोसियशन नेपाल (सान)ले आज नेपाल आर्मीको खेलकुद मैदान लगनखेलमा भारतको यु–१९ केरला टीम र नेपाल आर्मीको जगदल गण बीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना समेत गर्यो । उक्त खेलमा करेला टीम विजयी भएको छ ।






