
१३ साउन २०७५, काठमाडौं
पशुपति क्षेत्रको फोहोर व्यवस्थापनका लागि नेपाल आयल निगमले सहयोग गरेको छ ।निगमले आइतबार एक कार्यक्रमकाबीच पशुपति क्षेत्र विकास कोषलाई सहयोग प्रदान गरेको हो ।
निगमले ५ वर्षका लागि क्रियापुत्री क्षेत्रको सरसफाइको जिम्मेवारी लिनुका साथै ६ जना कामदारको व्यवस्था गरेको छ ।साथै निगमले फोहोर बोक्ने हाइड्रोलिक टिपर, दुईवटा लोडर विकास कोषलाई प्रदान गरेको हो । त्यस्तै दुई जना चालकको प्रबन्ध पनि निगमले गरेको छ।

विकास कोषका निर्देशक भोला प्रसाद सिटौलाका अनुसार निगमले प्रदान गरेको टिपर सदाका लागि विकास कोषको हुनेछ भने टिपरको तेल व्यवस्थापन निगमले नै गर्नेछ । ५ वर्षका लागि क्रियापुत्री क्षेत्रको सरसफाइको जिम्मेवारी लिने र लोडर उपलब्ध गर्ने सहमति भएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा आयल निगमका निमित्त कार्यकारी निर्देशक शुसिल भट्टराई, निगमका निर्देशक, उपनिर्देशक तथा विकास कोषका तर्फबाट सदस्यसचिव डा. प्रदिप ढकाल, कोषाध्यक्ष, अधिकृत लगायतको उपस्थिती रहेको थियो ।
निदर्शेक सिटौलाले भने, ‘यो सहयोग मेरो पहलमा भएको हो र आजैबाट सरसफाईको काम समेत सुरुवात भएको छ । निगमले आवश्यक्ता अनुसार अन्य सहयोग पनि उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ ।’





