चिहानमा गाड्न तयार पारिएकी २ वर्षीय बच्चीको दर्दनाक कथा



११ साउन २०७५, एजेन्सी

चीनको सिचुआन प्रान्तमा रहेको नेइजिङमा बस्ने एक दुई वर्षीया बालिकाका पिताले उनलाई चिहानमा गाड्न तयार पारिएको हृदयविदारक कथा अखबारको हेडलाइन तथा चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

थालास्सेमिया नामक प्राणघातक रोगबाट पीडित झाङ सिनेलाई उनका बुवाले दिनदिनै चिहानमा खेल्न र आराम गर्नका लागि ल्याउने गरेका छन् । उनलाई पितासँगै दिनदिनै चिहानमा राखिने गरिन्छ ।

मिडिया रिपोर्टअनुसार पिताले मृत्युको तयारी स्वरूप उनलाई यसो गरेका थिए । सामाजिक सञ्जालमा तस्वीर भाइरल भएपछि उक्त बच्चीका लागि जनताले आर्थिक सहयोग संकलन गरेका छन् ।

परिवारले झाङको उपचारका लागि करीब २० हजार ६०० डलर खर्च गरेपनि ठीक नभएको र उपचार खर्च उठाउन नसकेको बताईएको छ । बच्चीको मानसिक स्वास्थ्यमा क्षति पुर्याएको भन्दै जनताले बच्चीप्रति सहानुभूति देखाएपनि आमाबुवाको व्यवहारप्रति आलोचना गरेका छन् ।

थालास्सेमिया वंशाणुगत रूपमा सर्ने रगतसम्बन्धी रोग हो । जन्मअघि नै यसको पहिचान हुनसक्ने भएपनि चीनका गाउँलेहरूलाई यसको परीक्षणका बारेमा जानकारी छैन ।

प्रतिक्रिया दिनुहोस्