पाल्पाको रानीमहल स्थानीय सरकारलाई हस्तान्तरण



११ साउन २०७५, काठमाडौँ

पुरातात्विक महत्व बोकेको पाल्पामा अवस्थित  “रानीमहल” स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।

बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच पुरातत्व विभागले “रानीमहल” स्थानीय तानसेन नगरपालिकालाई १० वर्षको लागि हस्तान्तरण गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा सरकारका तर्फबाट पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीबीच १० वर्षे समझदारी भएको हो ।

कार्यक्रममा मन्त्री अधिकारीले भने “यो मेरो सौभाग्य हो । ऐतिहासीक सम्पदाहरु स्थानीय निकायलाई हस्तान्तरण गर्न  पाउँदा खुसी लागेको छ । यो नितान्त नयाँ अभ्यास हो । देश संघियतामा गएसँगै हाम्रा ऐतिहासीक सम्पदाको संरक्षण पनि संघियताकै मर्म अनुसार चल्ने छ ।”

समझदारीका क्रममा नगर प्रमुख शाहीले संघिय सरकारले विश्वास गरेर पुरातात्विक महत्व बोकेको “रानीमहल” हामीलाई दिएकोमा मन्त्री र मन्त्रालय प्रति हामी आभारी छौ । र “रानीमहल” लाई विश्वमा नै चिनउने गरी व्यवस्थापनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।

दुई पक्षबिच भएको उक्त समझदारीमा भूकम्पले चर्केको भू–भागको व्यवस्थापन, सञ्चालन, रङ्गरोहन, मर्मत, सम्भार गर्दा कुनै प्रकारका स्वरुप परिवर्तन गर्न, नास्न, विगार्न पाउने छैन र प्रत्येक कार्य गर्दा सरकारको स्वीकृति अनिवार्य रुपमा लिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्