भूकम्पपछिको ३९ महिना : कहाँ पुग्यो पुनर्निर्माण ?



फेरिए सिईओ, फेरिएन् पुनर्निर्माणको गति

१० साउन २०७५, काठमाडौं

गोरखाको वारपाक केन्द्रबिन्दु भई ७.८ रेक्टर स्केलको भूकम्प गएको ३९ महिना बिते पनि नेपाली समाजले भोगेको पीडा ताजै छ ।अझैसम्म पनि भूकम्पपीडितको घाउमा मलम लाग्न सकेको छैन् ।

पुनर्निर्माणको गतिले तिव्रता पाउन नसक्दा पीडित अझै टहरामै जीवन गुजार्न बाध्य छन् । ५ बर्ष भित्र भत्किएका संरचनाको पुनर्निर्माण गर्ने लक्ष्य लिए पनि सो अनुरुप कार्य भएको देखिदैन ।यस अवधिमा तीन जना सिईओ परिवर्तन भई चौथो व्यक्ति सिईओको रुपमा आउने तयारी हुँदैछ ।

यस्तै कतिपय स्थानमा हालसम्म पनि आवास निर्माणको सुरुवात हुन समेत सकेको छैन् ।हालसम्म २ लाख ५२ हजार ६ सय ७६ निजी आवास पुनर्निर्माण भएका छन् ,जुन गतिलाई सन्तोषजनक मान्न सकिदैन । २०७२ वैशाख १२ र २९ गते गएको भूकम्पबाट ३१ जिल्लामा क्षती पुगेको थियो । जसमध्ये १४ जिल्ला भूकम्प अति प्रभावितको सूचीमा परे ।

भूकम्प प्रभावित जिल्लामा ९लाख ९६ हजार ५ सय ८२ कुल सर्वे गरिएकोमा ८ लाख ७४ हजार ७ सय ८६ लाभग्राही रहेका छन् । जसमध्ये ७ लाख २२ हजार ६५ घरपरिवारले पहिलो किस्ता वापतको अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको साउन ६ गतेसम्मको निजी आवास पुन निर्माणको तथ्यांक हेर्दा जसमध्ये ७ लाख १३ हजार ७ सय ९९ घरपरिवारले पहिलो किस्ताको रकम प्राप्त गरेका छन् ।

पहिलो किस्ताको रकम बुझेकामध्ये ५ लाख २० हजार ३ सय २३ घर निर्माणाधिन रहेका छन् । पुनर्निर्माण प्राधिकरणले ४ लाख ७९ हजार ३ सय ४५ घरपरिवार दोस्रो किस्ताको अनुदान रकम पाउन योग्य रहेको प्रमाणीकरण गरेको छ । हालसम्म दोस्रो किस्ता वापत्को रकम ४ लाख ६५ हजार १ सय ५५ घर परिवारले प्राप्त गरेका छन् ।

सुरुवातमा भूकम्प पीडित लाभग्राहीले निजी आवास अनुदानको दोस्रो किस्ता बापतको रकम २०७४ चैत्र मसान्तभित्र बुझिसक्नु पर्ने प्रावधान राखिएको थियो । पछि समय सीमालाई तीन महिना बढाएर २०७५ असार मसान्तसम्म कायम गर्यो ।प्राधिकरणका प्रवक्ता (सह–सचिव) कृष्ण प्रसाद दवाडी दोस्रो किस्ता बापतको रकम लिने समयावधि थप्ने तयारी भइरहेको बताउछन् ।

उनका अनुसार धेरैले दोस्रो किस्ताको अनुदान रकम लिन बाँकी रहेकाले समयावधी थप गर्ने तयारी गरिएको हो । यस्तै प्राधिकरणले २ लाख ५० हजार ५ सय ३२ घरपरिवारलाई तेस्रो किस्ताको लागि प्रमाणिकरण गरेको छ । जसमध्ये २ लाख २२ हजार ५ सय ८० घरपरिवारले तेस्रो किस्ताको रकम प्राप्त गरेका छन् ।

पुनर्निर्माण प्राधिकरणको साउन ६ गते सम्मको तथ्यांक अनुसार २ लाख ५२ हजार ६ सय ७६ निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ ।

५२ हजार ५४ प्रवलीकरण लाभग्राहीमध्ये ८ हजार ८ सय ४८ घरपरिवारले अनुदान सम्झौता गरेका छन् । जसमध्ये ७ हजार ४सय ४६ घरपरिवारले पहिलो किस्ताको अनुदान प्राप्त गरेका छन् ।यस्तै २ लाख ८० हजार ७ सय १४ घरपरिवारबाट गुनासो आएकोमा १ लाख ८५ हजार ५ सय ७ को पुनरावलोकन भएको छ । पुन जाँचका लागि दर्ता भएका १ लाख २९ ४ सय ८ मध्ये ९१ हजार ९सय १८ पछ्र्यौट भएको छ ।

भूकम्पबाट ४ सय ८३ सरकारी भवनमा क्षति पुगेको थियो । क्षति भएका सरकारी भवनमध्ये ३ सय ७९ भवन पुनर्निर्माण गर्नुपर्नेे छ । २ सय २० सरकारी भवन पुनर्निर्माण भइसकेका छन् भने १ सय ४७ भवन निर्माणाधिन छन् । १२ सरकारी भवनको पुनर्निर्माण कार्य अझै सुरुवात हुन सकेको छैन् । यता ७ हजार ५ सय ५३ शैक्षिक संस्था पुर्निनर्माण गर्नुपर्नेमा ३ हजार ७ सय ८५ पुनर्निर्माण सम्पन्न भएका छन् । २४ सय शैक्षिक संस्था पुनर्निर्माण भइरहेका छन् भने १३ सय ६८ मा पुनर्निर्माण प्रक्रिया सुरु हुन बाँकी छ ।

भूकम्पले १ हजार १ सय ९७ स्वास्थ्य संस्थामा क्षती पुर्याएको  थियो । जसमध्ये १ हजार १ सय ९७ पुनर्निर्माण गर्नुपर्नेमा ६ सय ४३ स्वास्थ्य संस्था पुनर्निर्माण भएका छन् । ४ सय ९ स्वास्थ्य संस्थाको निर्माण पक्रिया सुरु हुन बाँकी छ भने १सय ४५ संस्था निर्माणाधिन छन् ।

७ सय ५३ पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म १ सय १६ सम्पदा निर्माण भएका छन् । ३ सय २६ सम्पदा पुनर्निर्माण भइरहेका छन् भने ३ सय ११ निर्माण प्रक्रिया सुरु हुन बाँकी छ । सुरक्षा निकायका ३ सय ८३ भवनमध्ये ८९ भवन निर्माण भएका छन् । १ सय १६ भवन निर्माण भइरहेका छन् भने १ सय ७८ भवन निर्माण प्रक्रियमा जान बाँकी छ ।

भूकम्पबाट ४ हजार ५ सय ४५ खानेपानी आयोजनामा क्षति पुगेको थियो । जसमध्ये ३ हजार २ सय १२ आयोजना पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म ५ सय ८१ निर्माण सम्पन्न भएका छन् । ७ सय ९५ खानेपानी आयोजना निर्माणाधिन रहँदा १८ सय ३५ आयोजनाको निर्माण प्रक्रिया सुरु हुन बाँकी छ ।

ग्रामिण सडकको पुनर्निर्माण तर्फ ७७ क्षती, ७५ पुनर्निर्माण गर्नुपर्ने, ३६ सम्पन्न र ३९ पुनर्निर्माण गर्न बाँकी रहेको छ । उता समयमा प्राधिकरणको सिईओ परिवर्तन हुँदा पुनर्निर्माण को गतिमा धक्का पुगको छ । हाल प्राधिकरण सिईओ मुक्त हुँदा दैनिक कार्यका लागि असहज नभएपनि नीतिगत निर्णयका लागि असहज भएको प्रवक्ता दवाडीले बताए । साथै गुनासो पछ्यौटका लागि सिईओ नहुँदा उक्त काम रोकिएको छ ।

२०७२ पुष १० गते भूकम्प पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त भएका सुशिल ज्ञवाली ०७३ पुस २७ गते पद मुक्त भए । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारले ज्ञवालीको कार्यशैली चित्त बुझ्दो नभएको भन्दै पदमुक्त गरेको थियो ।

ज्ञवालीपद मुक्त भएको भोलीपल्ट डा. गोविन्द राज पोखरेल सिईओमा नियुक्त भए । नेपाली कांग्रेसको सिफारिसमा सिईओ बनेका डा. पोखरेलले प्रतिनिधिसभाको उमेद्दारका बन्नका लागि २०७४ कात्तिक ६ गते पदबाट राजिनामा दिएका थिए ।

डा. पोखरेल पदमुक्त भएको भोलीपल्ट सिईओमा नियुक्त भएका युवराज भुसाल ८ महिना पदमा रहे । निर्वाचन आचारसंहिता लागू भएपछिका नियुक्ति खारेज गर्ने मन्त्रीपरिषद्को निर्णयसँगै सिईओ भुसाल पनि जिम्मेवारीमुक्त भएका थिए ।यो निर्णयपछि सबैलाई असार २० गतेबाट लागू हुने गरी पत्र पठाइएको थियो ।

अब सिईओमा को नियुक्त हुन्छन् बिषयलाई चासेका साथ हेरिएको छ । गत बर्ष १ खर्ब १४ अर्ब ३८ करोड ६६ लाख ९७ हजार खर्च भएको प्राधिकरणले जनाएको छ । पुनर्निर्माण प्राधिकरणका अनुसार २०७६ भित्र निजी आवास पुनर्निर्माण सकिनुका साथै २०७८ भित्र ८०–९० प्रतिशत काम सम्पन्न हुनेछ । तर हालैको गतिमा काम हुँदै गएमा उक्त लक्ष्य पनि सम्पन्न हुनेमा आशंका छ ।

हालसम्मको गतिविधि हेर्दा  पीडितको घाउमा छिट्टै मलम लगाउने बाटो खोज्नु जरुरी छ । यसमा सम्बन्धित निकायको ध्यान पुगोस्   ।

प्रतिक्रिया दिनुहोस्